सर्लाही
सर्लाहीको अति विकट उत्तरी चुरेभेगमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलाबाट ठूलो परिमाणमा अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । प्रहरीले गाँजा प्रशोधन गर्ने स्थलमा छापा मारी एक सय किलो अर्थात् एक क्विन्टल गाँजासहित यसको कारोवारमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४, नारायणखोला गङगटेका ३३ वर्षीय सानो कान्छा योञ्जन र पर्साको पर्सागढी नगरपालिका–९ मनवा बजारका ३४ वर्षीय प्रगन सहनी रहेका प्रहरीले जनाएको छ । बिहिबार बेलुका लागूऔषध नियन्त्रण ब्यूरो काठमाण्डौं र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको संयुक्त टोलीले विशेष सूचनाको आधारमा नारायणखोलास्थित गङगटेमा सञ्चालन गरिएको गाँजा प्रशोधन केन्द्रमा छापामारी दुई जना कारोवारीलाई पक्राउ गर्न सफल भएको सर्लाहीका प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
सो स्थानबाट कच्चा हरियो गाँजालाई प्रशोधन गरी तयारी गाँजा बनाउने काठको फर्मा, रेञ्ची र फलामको मेसिन समेत बरामद गरिएको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेका योञ्जन र सहनीले लामो समयदेखि हरियो गाँजा प्रशोधन गरी भारतीय तथा स्थानीय ग्राहकहरुको माग अनुसार विक्री वितरण गर्ने गरेको पाइएको एसपी भट्टराईले बताए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया