सडकमै सुतेका चिया श्रमिक भन्छन् – माग पूरा नगरे पछि हट्नेवाला छैनौ

सडकमै सुतेका चिया श्रमिक भन्छन् – माग पूरा नगरे पछि हट्नेवाला छैनौ

केन्द्रबिन्दु
0
Shares

इलाम

३८ दिन यता आन्दोलनरत इलाम र झापाका चिया श्रमिकले मंगलबार राजमार्गमा सुतेर विरोध जनाएका छन् । उनीहरूले झापाको बिर्तामोडमा सवारीका साधनसमेत बन्द गराइ प्रदर्शन गरेका हुन् ।

बिर्तामोडस्थित बि एन्ड सी हस्पिटल छेउबाट सुरु भएको श्रमिकको र्याली मुक्तिचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । त्यसपछि पूर्व–पश्चिम राजमार्गमै सुतेर विरोध जनाएपछि दिउँसो १ देखि साढे २ बजेसम्म लामो तथा छोटो दूरीका सवारी साधनसमेत ठप्प भएका थिए ।

कोणसभालाई सम्बोधन गर्दै श्रमिक नेताहरूले न्यूनतम् ज्याला, सामाजिक सुरक्षा ऐन र श्रम ऐन कार्यान्वयन नभएसम्म आन्दोलन जारी रहने बताए । उनीहरूले श्रमिकले भोकभोकै लामो समय आन्दोलन गरेर सरकारी निर्णय कार्यान्वयन माग गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे ।

नेपाल चिया बगान श्रमिक संघ अध्यक्ष दीपक तामाङले जुनसुकै अवस्था आए पनि यो पटकको आन्दोलन निर्णायक हुने बताए । ‘हामीले आन्दोलन गरेको धेरै पटक भइसक्यो,’ उनले भने, ‘अबचाहिँ हामी पछि हट्नेवाला छैनौं । माग पूरा गराएरै छाड्छौं ।’

सरकारले नै तोकेको ज्याला नदिने, सरकारी निर्णय नमान्ने उद्योगीहरूलाई कानुनी दायरामा ल्याउन सरकारसँग श्रमिकहरूको माग छ । विशेषगरी सरकारी स्वामित्वका चिया बगान र उद्योगमा कार्यरत श्रमिकले नै सरकारले तोकेको न्यूनतम् ज्याला पाएका छैनन् । इलाम, कन्याम, सोक्तिम, चिलिमकोट, बर्ने, बारादसी र टोकला चिया बगान सरकारी हुन् । यी बगान सरकारले २०५७ सालमा त्रिवेणी सांघाई समूहलाई ६५ प्रतिशत हिस्सा दिएर ५० वर्षका लागि लिजमा दिएको छ ।

सरकारले गत साउनदेखि लागू हुनेगरी चिया बगानमा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ । चिया कारखानामा काम गर्ने श्रमिकको दैनिक न्यूनतम् ज्याला ४ सय २७ रुपैयाँ छ । तर दुवैखाले श्रमिक अहिले झापामा दैनिक २ सय ७८ र इलाममा २ सय ६५ रुपैयाँमा काम गर्न बाध्य छन् । बिर्तामोडमा भएको आन्दोलनमा इलामका चारै बगानका श्रमिकसमेत भेला भएका थिए । श्रमिकले गत चैत १७ देखि नै आफू कार्यरत उद्योग र बगान बन्द गरेर दिनहुँ आन्दोलन गरिरहेका छन् । श्रमिकले आन्दोलन चर्कापछि उद्योगीसमेत २० बुँदे माग राखेर सरकारसम्म धाइरहेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo