काठमाडौं
नेपालबाट शून्य लागतमा नेपाली श्रमिक लैजाने विषयमा नेपाल र ओमानबीच नयाँ श्रमसम्झौता गर्ने सहमति भएको छ । नेपाल र ओमानका प्रविधि टोलीबीच काठमाडौँमा सम्पन्न छलफलले ओमानले नेपाली श्रमिक लैजाँदा लाग्ने सम्पूर्ण खर्च त्यहाँका रोजगारदाता कम्पनीले नै तिर्ने गरी श्रम सम्झौताको सहमति भएको हो ।
श्रम सम्झौताका लागि नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरे र ओमान सरकारका तर्फबाट जनशक्ति मन्यालय अन्तर्गतको श्रमकल्याण विभागका महानिर्देशक सलिन तिन साइड अलवादीको टोलीबीच सम्पन्न छलफलपछि उक्त विषयमा सहमति भएको मन्त्रालयले जनाएको छ । दुई देशका प्राविधिक टोलीबीच छलफल गरेर तयार गरिएको अन्तिम मस्यौदा दुवै देशका मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै दुई देशबीच सम्झौता हुनेछ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव एवं नेपालको तर्फबाट प्राविधिक टोलीका संयोजक रामप्रसाद घिमिरले विश्वपरिवेश अनुसार श्रमिकमैत्री श्रमसम्झौता गर्ने विषयमा सहमति भएको जानकारी दिनुभयो । सहसचिव घिमिरले दुई देशबीच नेपाली श्रमिकको लागत खर्च रोजगारदाताले नै व्यहोर्ने, श्रमिक कार्यस्थलमा रहँदाको सुरक्षा र न्यायमा सहज पहुँच लगायत विषयमा सहमति भएको जानकारी पनि दिनुभयो ।
गोरखापत्रबाट





























प्रतिक्रिया