काठमाडौं
लामो समयको कसरतपछि डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम एकताको मुखैमा पुगेका छन् । दुई पार्टीका नेताहरु सम्मिलित शनिबार बसेको बैठकले एकताको औपचारिक घोषणा भोलि वैशाख २३ गते सोमबार गर्ने जनाएका छन् ।
भट्टराई र यादवको हस्ताक्षरित एकता घोषणाको विज्ञप्तिमा पार्टी एकताको मिति र नामबारे मात्रै उल्लेख छ । सहमतिपत्रमा दुई पार्टी मिलेर ‘समाजवादी पार्टी नेपाल’ राख्ने सहमति भएको छ । नेतृत्व र पदीय जिम्मेवारीबारे विज्ञप्तिमा खुलाइएको छैन ।
यादव नेतृत्वको फोरम सरकारमा रहेकाले भट्टराईसँगको एकतापछि पार्टी सरकारमा जाने वा बाहिर बस्ने त्यसबारे पनि अन्योल राखिएको छ । एकतापछि सरकारसँगको सहयात्राबारे नेताहरुको स्पष्ट धारणा आइसकेको छैन । प्रतिनिधिसभा निर्वाचन ०७४ अघिदेखि नै यी दुई दलको एकता प्रयास हुँदै आएको थियो । तर त्यतिबेलाको छलफल सकरात्मक हुन सकेको थिएन ।
यादव अहिले केन्द्रीय सरकारको उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री छन् । अहिले यादवले सरकार छाड्ने कि भट्टराई सरकारमा जाने भन्ने विषयमा बहस सुरु भइसकेको छ । नयाँ शक्तिका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेका अनुसार २३ गते पार्टी एकता घोषणा कार्यक्रम सकिएपछि संविधान संशोधन लगायत विषय सम्बोधन गर्न सरकारलाई अल्टिमेटम दिइने छ । उक्त अल्टिमेटलाई सरकारले सम्बोधन गरे सरकारमै बस्ने र माग पूरा नभए बाहिरिने सहमति भएको पाण्डेले बताए ।
नागरिकबाट































प्रतिक्रिया