काठामाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अलि कडा स्वभावका छन् । उनको मुखबाट माफी, आत्मालोचना, ‘भुलवश यसो गरिएछ’ भन्ने कुरा त कहिल्यै सुनिदैन् । तर शनिबार भने प्रधानमन्त्रीले अचम्मै गरे । बालुवाटारमा प्रधामन्त्री ओलीले पटक–पटक आत्मालोचना र माफी मागे ।
सरकारले ल्याएको नीति तथा कार्यक्रमको बारेमा धेरै नै आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बिहान आफ्नो निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादक र प्रतिनिधिसँग अन्तरक्रिया गरे । अन्तरक्रियामा सरकारको नीति तथा कार्यक्रमको बचाउ अनि सरकारले गरेका केही कामको बखान गरेका प्रधानमन्त्रीले एक ठाउँमा एक ठाउँमा आत्मआलोचना गरेका हुन् ।
झापा क्षेत्र नम्बर पाँचको विकासका लागि प्रधानमन्त्री कार्यालयबाट राष्ट्रिय योजना आयोगमा पठाइएको पत्रबारे भने प्रधानमन्त्री ओलीले आत्मआलोचना गरेका हुन् । प्रधानमन्त्री कार्यालयको लेटर प्याड दुरुपयोग गरेर लेखिएको पत्रमा झापा क्षेत्र नम्बर पाँचमा विश्वकै अग्लो बुद्धको मूर्ति, भ्यू टावरदेखि सडक कालोपत्रेसहितका ६८ वटा योजना पारिदिन आग्रह गरिएको छ ।
प्रधानमन्त्री कार्यालयबाट गल्ती भएको भन्दै सचिवालयले शुक्रबार नै विज्ञप्ति जारी गरेको थियो । तर शनिबार प्रधानमन्त्री ओली आफैले आत्मालोचना गरेका हुन् । झट्ट आत्मालोचना र माफी नमाग्ने प्रधानमन्त्री शनिबार भने सजिलै आत्मालोचना गरेको देखेर बालुवाटार पुगेका धेरैजना अचम्ममा परे ।
‘मैले मेरो निर्वाचन क्षेत्र केन्द्रित राजनिति गरेको छैन, म आफै योजना आयोगको अध्यक्ष पनि हो, त्यसैले मेरो निर्वाचन क्षेत्रका लागि योजना पार्न आयोगमा पत्र पठाउनै पर्दैन, तर मेरो स्वकीय सचिवालयका साथीले माग तयार पार्नुभएछ, यस सम्बन्धमा मलाई जानकारी नै थिएन, सुनेपछि म अत्यन्तै दुःखी भएँ, मेरो जानकारीबिना नै किन यस्तो गरेको भनेर मैले सचिवालयका साथीहरुसँग असन्तुष्टि पोखेको छु, आत्मालोचना पनि गरेको छु, म दुःखी भएको छु’, ओलीले भने ।
तर भुलवश भएको कामको बारेमा सचिवालयले विज्ञप्ति जारी गर्दासमेत केही सञ्चारमाध्यमले फेरि त्यही विषयलाई खोतलिरहेको भन्दै उनले आपत्ति समेत जनाए । ‘हामीले माफी माग्दासमेत केही स्थापित सञ्चारमाध्यमले त्यही विषयलाई बोकेर हिँडेको देख्दा अचम्म लाग्छ, यतिविधि नै राजनीति त किन गर्नुपर्छ र ? ‘डेड इस्यु’ लाई किन क्यारी गरेका होलान् !’ ओलीले गुनासो गरे ।































प्रतिक्रिया