सर्वोच्चको आदेशपछि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरे रिहा

सर्वोच्चको आदेशपछि प्रधानमन्त्रीलाई कालो झण्डा देखाउने घिमिरे रिहा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई कालो झण्डा देखाउने व्यक्ति रिहा भएका छन् । सर्वोच्च अदालतले मंगलबार असाधारण क्षेत्राधिकार अन्तर्गत रिटद्वारा १० दिनपछि रिहा गरिदिएको हो । सर्वोच्च अदालतका न्यायाधीशद्धय दीपककुमार कार्की र हरि प्रसाद फुयालको संयुक्त इजलासले बुटवल उपमहानगरपालिका १ बाट बैशाख ७ गते पक्राउ परेका रुद्र प्रसाद घिमिरेलाई ‘गैर कानुनी थुनामा राखेको ठहर’ गर्दै रिहाई गरिदिएको हो।

घिमिरेलाई जितगढी विजयोत्सव मनाउदै गर्दा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएको अभियोगमा पक्राउ गरिएको थियो भने पक्राउ लगत्तै कपिलवस्तु जिल्ला प्रशासन कार्यालयले अनुसन्धानको लागि थुनामा राख्न नेपाल प्रहरीलाई अनुमति दिएको थियो।

मंगलबार सर्वोच्च अदालतमा भएको बहसका क्रममा बरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने, सुरेन्द्र भण्डारी र डा. नारायण प्रसाद घिमिरे तथा अधिवक्ताद्धय अनन्तराज लुईंटेल र विकास भट्टराईले पंचायती कालमा भन्दापनि पछि फर्केर घिमिरेलाई पक्राउ गरिएको उल्लेख गर्दै तत्काल थुनामुक्त गर्न माग गरेका थिए।

२०२८ सालमा तत्कालिन राजा महेन्द्रको ५१ औं जन्मोत्सव मनाउँदा धनुषामा कालो झण्डा देखाउनेहरुलाई सर्वोच्च अदालतबाट रिहाई गरिदिएको नजिर पेश गर्दै प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाएकै भरमा घिमिरेलाई थुनामा राख्ने अनुमति सर्वोच्चले दिएमा निरंकुश समयमा फर्कनुपर्ने तर्क गरेका थिए। बहसकै क्रममा सरकारी वकिलले उनको थुना सदर गरी मुद्दा अघि बढ्नुपर्ने माग गरेका थिए।

घिमिरेलाई थुनामा राख्दा संवैधानिक तथा कानुनी रुपमा संरक्षित अभिव्यक्ति स्वतन्त्रता एवं मानव अधिकारको चरम उल्लंघन भएको दावी गर्दै रिहाईको मागसहित महेश डंगोलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरेका थिए ।

Logo