१८ वर्षमा ५ गुणा बढ्यो प्रतिव्यक्ति आय

१८ वर्षमा ५ गुणा बढ्यो प्रतिव्यक्ति आय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

विगत १८ वर्षमा नेपालीको प्रतिव्यक्ति आय पाँच गुणा बढेर चालू आर्थिक वर्ष २०७५-७६ मा १०४७ अमेरिकी डलर पुग्ने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । आव २०५७-५८ मा नेपालीको प्रतिव्यक्ति आय २६० डलर थियो । गत आवमा १००५ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकोमा चालू आवमा  १०४७ पुग्ने विभागले शुक्रबार प्रक्षेपण गरेको हो ।

तर, राष्ट्रिय योजना आयोगले चालू आवमा नेपालीको प्रतिव्यक्ति आय १०७५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरेको थियो । हालको सटहीदरअनुसार प्रतिव्यक्ति आय १ लाख १७ हजार ४ सय ५५ रुपैयाँ हुन्छ ।

प्रतिव्यक्ति आयमात्र नभइ आर्थिक वृद्धिमा समेत अपेक्षाकृत सुधार हुन सकेको छैन । चालू आर्थिक वर्षमा देशको आर्थिक वृद्धि ६.८१ प्रतिशत हुने भएको छ । बजेटमार्फत अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत गुग्ने प्रक्षेपण गरेपनि मध्यावधि बजेट समीक्षामा ७ देखि ८ प्रतिशतको बीचमा रहने बताएका थिए । तर, विकास साझेदारहरू विश्व बैंकले ५.९ प्रतिशत, एसियाली विकास बैंकले ६.२ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ६.५ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।

तथ्यांक विभागले प्रतिवेदन सार्वजनिक गर्दै चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत हुने बताएको छ । चालू वर्षमा कृषि क्षेत्रमा ५.०३ प्रतिशत र गैरकृषि क्षेत्रको वृद्धिदर ७.४८ प्रतिशत विभागको अनुमान छ । कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वार्षिक वृद्धिदरमा आर्थिक वर्ष २०७४-७५ मा ६.३ प्रतिशतको अनुमान छ भने २०७३-०७४ मा जीडीपी वृद्धिदर ७.७४ प्रतिशत थियो ।

कारोबारबाट

 

Logo