काठमाडौं
मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण रोकिँदा उपआयोजना–२ का पाइपलाइन तथा प्रशोधन केन्द्र निर्माणका काम प्रभावित भएका छन् । परियोजना अन्तर्गत सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण सम्पन्न भइसकेको छ । निर्माण सम्पन्न भएपछि निर्माण गर्ने कम्पनी फर्कन पाएको छैन । सम्झौता अनुसार सुरुङबाट पानी आएपछि तीन महिनासम्म प्रशोधन केन्द्र कम्पनीले नै सञ्चालन गर्नु पर्नेछ । मेलम्ची आउने टुङ्गो नभएपछि निर्माण कम्पनी अप्ठेरोमा परेको हो ।
प्रशोधन केन्द्र भारतीय निर्माण कम्पनी भाटेक बेवागले बनाएको हो । कम्पनीले सन् २०१७ डिसेम्बरमा काम सम्पन्न गरिसकेको छ । काम सम्पन्न भएको १६ महिनासम्म पनि फर्किन नपाएपछि निर्माण कम्पन्नी अप्ठ्यारोमा छ । कम्पनी आफ्नो काम सम्पन्न गरेपछि फर्कन चाहन्छ तर धरौती फिर्ता नहुँदा कुर्न बाध्य छ ।
समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले भन्नुभयो ‘काम उतिबेलै सकेको हो, कम्पनीले अब धेरै कुर्न सक्दिन पनि भनेको छ, अहिलेसम्म हामीले अनुरोध गरेर राखिरहेका छौं ।’
गएको बर्षायाममा बाग्मतीको पानीले प्रशोधन केन्द्रको परीक्षण गरी सोही पानी वितरण समेत गरिएको थियो । मेलम्ची आयोजनाले जापानी सहयोग नियोग (जाइका) को सहयोगमा दैनिक आठ करोड ५० हजार लिटर पानी प्रशोधन गर्ने क्षमता भएको प्रशोधन केन्द्र निर्माण गरेको हो ।
गोरखापत्रबाट































प्रतिक्रिया