वीरगन्ज
मुलुककै मुख्य नाकाको रुपमा रहेको वीरगन्ज भन्सार कार्यालयले ६ महिनादेखि राजस्व लक्ष्य भेट्न सकेको छैन । यहाँबाट चैतमा १० अर्ब १ करोड ३ लाख ७८ हजार रुपैयाँ मात्र संकलन भएको छ । विभागले १५ अर्ब ४४ करोड ४५ लाख रुपैयाँको लक्ष्य दिएको थियो ।
चैतको राजस्व संकलनमा अप्रत्याशित गिरावट आएको भन्सार अधिकृत गोपाल खत्रीले बताए । आयात कम भएकाले त्यसको असर राजस्व संकलनमा परेको उनको भनाइ छ । ‘चैत भन्दा पहिलेका पाँच महिनामा पनि लक्ष्य लगातार पूरा हुन सकेको थिएन’, उनले भने, ‘तर चैतमा ६४ प्रतिशत मात्र राजस्व उठेको देख्दा हामीलाई आश्चर्य लागेको छ । किन अप्रत्याशित गिरावट भनेर हामी खोजीनीति गरिरहेका छौं ।’
उनका अनुसार साउनदेखि चैतसम्म नौ महिनामा भारत तथा तेस्रो मुलुकबाट वीरगन्ज नाका हुँदै ४५ अर्ब १ करोड मूल्यको सामान आयात भएको छ । अघिल्लो वर्षको चैत महिनामै ६३ अर्ब ९१ करोड मूल्यको सामान भित्रिएको थियो । विभागले जसरी लक्ष्य बढायो त्यस अनुरूप व्यापार नबढेकाले आयातमा कमी आई राजस्व लक्ष्य पूरा गर्न नसकिएको उनले सुनाए ।
विभागले राजस्व असुलीको लक्ष्य बढी तोकेर पठाएको सूचना अधिकारी मनीष महतोले बताए । तर बजारमा व्यापार, व्यवसाय घटेको असर राजस्व असुलीमा परेको उनको भनाइ छ । ‘विभागले ६ महिनायता पहिलेभन्दा ३० प्रतिशत बढाएर लक्ष्य दिएको छ’, उनले भने, ‘तर, व्यापार घटेको छ । मुलुकमा आर्थिक मन्दी पनि छ । जसका कारण भारत तथा तेस्रो मुलुकबाट आयात कमी आएकाले लक्ष्य भेटाउन नसकिएको हो ।’
अन्नपूर्णबाट





























प्रतिक्रिया