तोकिएको ३५ दिनको समयमा २५९ हतियार संकलन

तोकिएको ३५ दिनको समयमा २५९ हतियार संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

अपराध नियन्त्रण गरी समाजमा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यले सरकारले अवैध हतियार बुझाउन दिएको समयसीमा भित्र प्रहरीमा २५९ हतियार सङ्कलन भएको छ ।

संकलित हतियारमा अबैध भन्दा वैध हतियार बढी छ । प्रहरी प्रधान कार्यालयले गत चैत १ देखि वैशाख ५ गतेसम्मको अवधिमा आएका २५९ हतियारमध्ये १७१ वटा वैध हतियार रहेको जनाएको छ ।

सो अवधिमा ८८ वटा अवैध हतियार संकलन भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिए । गृहमन्त्रालयले सबै सुरक्षा निकायमा बुझाइएका हतियारको विवरण संकलन भइरहेकाले एकमुष्ट संख्या भने केही दिनमा सार्वजनिक गर्ने जनाएको छ ।

मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले सबै क्षेत्रबाट विवरण संकलन जारी रहेको जानकारी दिँदै सरकारी निर्णयपछि आपराधिक क्रियाकलापमा न्यूनीकरण भएको र शान्ति सुरक्षा सुदृढ हुँदै गएको बताए ।

विभिन्न व्यक्तिले सुरक्षाका लागि राखेका हतियार नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुरुपयोग गर्न सक्ने आशंकाले उनीहरुले वैध हतियार पनि सरकारलाई बुझाएको प्रहरीले अनुमान गरेको छ ।

सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई आपराधिक समूह घोषणा गरी उसका गतिविधि रोक्ने निर्णय गरेसँगै अवैध हतियार बुझाउन चैत १ गते नै ३५ दिने सूचना जारी गरेको थियो ।

गृहमन्त्रालयले कानून बमोजिम लिनुपर्ने इजाजत नलिई, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन गत वैशाख ५ गतेसम्मका लागि समयसीमा तोकेको थियो ।

प्रहरीमा बुझाइएका हतियारमा अधिकांश एक नाले भरुवा बन्दुक रहेका छन् । केही मात्रामा रिभल्वर, बाह्रबोर र बाइस बोरको राइफल, बाह्र बोरको सटगन, दुई नाले बन्दुकसमेत प्रहरीमा आएको छ ।

प्रवक्ता सुवेदीले भने, ‘सबै कार्यालयबाट हतियारको पूर्ण विवरण आउने क्रममा छ, प्रारम्भिक विवरण अनुसार अहिलेसम्म २५९ हतियार आएको छ, केही हतियारको संख्या थपिन सक्छ ।’

Logo