गाउँपालिकाको बस विवाहमा प्रयोग

गाउँपालिकाको बस विवाहमा प्रयोग


डोटी

डोटीको पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालित सार्वजनिक बस विवाहमा प्रयोग भइरहेको छ । विशेषगरी गाउँपालिकाका स्थानीयबासीको सहजताका लागि पूर्वीचौकी गाउँपालिकाद्वारा सञ्चालनमा ल्याइएको बस बुधबारदेखि जन्ती बोक्दै आएको पाइएको हो ।

गाउँपालिकाको बस विवाहमा प्रयोग भएपछि स्थानीय यात्रुले गुनासो गर्न थालेका छन् । बुधबार पूर्वीचौकी गाउँपालिकाको खिर्सेनबाट दिपायल सिलगढी नगरपालिका २ दिपायलमा आएको विवाहमा प्रयोग भएको बस बिहीबार जन्ती लगेर फर्केको थियो ।

शुक्रबार पनि उक्त गाउँपालिकाको बस सोही गाउँपालिकाबाट जन्ती बोकेर डडेलधुरा जिल्लाको कोराल खोलामा विवाहको ब्यानरसहित गएको हो ।

तीन दिनदेखि लगातार विवाहमा प्रयोग हुँदै आएको गाउँपालिकाको बस शुक्रबार नेत्रविक्रमचन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गरेको नेपाल बन्दका दिनमा समेत विवाहका जन्ती बोक्दै गरेको अवस्था भेटिएको थियो ।

स्थानीय यात्रुको सहजताका लागि ल्याइएको बस गाउँपालिकाले विवाहमा प्रयोग गर्न थालेपछि आफुहरुले सास्ती भोग्नु परेको स्थानीयको गुनासो छ । सेवामुलक बस मुनाफा मुलक बनाएर सञ्चाल गर्नु नहुने स्थानीयको भनाइ छ ।

गाउँपालिकाको बस संचालन कार्यविधिमा समेत गाउँपालिकाद्वारा सञ्चालित बस कुनैपनि प्रयोजनका लागि भाडामा दिने उल्लेख नभएको र वडा नम्बर २ बगलेकका वडाध्यक्ष योगेन्द्र ठकुल्लाले आफूलाई जानकारी नगराई विवाहमा प्रयोग गरेको बताए ।

उता गाउँपालिकाका अध्यक्ष दीर्घ बोगटीले यसरी बस प्रयोग गर्न मिल्ने तर्क गरे । उनले कार्यविधिमा विवाह ब्रतबन्धका लागि प्रयोग गर्न मिल्ने उल्लेख भएको बताए । बस सञ्चालन समिति संयोजक तथा वडा नम्बर १ का अध्यक्ष अंकबहादुर खड्काले बस विवाहमा प्रयोग भएको छ भन्ने कुरा अरुबाट जानकारी पाएको बताए ।
अन्नपूर्णबाट

Logo