बालबालिका कि गुम्बाले लान्छन्, कि चर्चले : गाउँका विद्यालय बन्द

बालबालिका कि गुम्बाले लान्छन्, कि चर्चले : गाउँका विद्यालय बन्द

केन्द्रबिन्दु
0
Shares

गोरखा

गोरखाको चुमनुब्री गाउँपालिका पुग्नुभयो भने तपाईंलाई सोध्न मन लाग्छ— के यहाँ बालबालिका छैनन् ? प्रश्न खस्न नपाउँदै यहाँका बासिन्दा भनिदिन्छन् , छन्, तर सहरमा । अथवा गुम्बामा । अथवा चर्चमा ।

किनभने धर्मगुरुहरूले कसको घरमा बच्चा हुर्किंदै छ भन्ने पहिला अध्ययन गर्छन् । बच्चाको नाम टिप्छन् । अनि हुर्किएपछि उनीहरूलाई काठमाडौंका थानकोट, गागलफेदी, फर्पिङ, चोभार आदि स्थान अथवा भारतसम्मै पनि पुर्‍याउँछन् । गुम्बा र चर्चका एजेन्टले हुर्केका गाउँका बालबालिका सहर लगिदिएकैले चुमनुब्रीका विद्यालय धमाधम बन्द हुन थालेका छन् । विद्यार्थी नपाएपछि गाउँपालिकाका पाँच विद्यालय बन्द भएका छन् ।

मनास्लु इन्द्रेणी प्रावि नाम्रुङ, पेमाथाङ प्रावि लोक्पा, छुलेनिले आधारभूत विद्यालय निले, जनज्योति प्रावि स्यो, क्वाक आधारभूत विद्यालय क्वाक र क्य्राक प्रावि क्य्राक बन्द भएको गाउँपालिकाको शिक्षा शाखाले जानकारी दिएको छ ।

विद्यार्थीविहीन भएपछि बिहीस्थित गुम्बा हिमाली प्रावि बन्द भएको थियो । विद्यालय भवन भत्काएर त्यस ठाउँमा हेलिप्याड निर्माण भएको थियो । एक वर्ष अघि फेरि प्रारम्भिक बालविकास (ईसीडी) कक्षा सञ्चालन गर्न थालिएको वडाध्यक्ष सोनाम ग्याल्जेनले बताए ।

विद्यार्थी कम भएपछि छाक गाउँको हिमचुली आधारभूत विद्यालयमा कक्षा घटुवा गरेर ईसीडी मात्र सञ्चालन गरिएको स्थानीय धावा लामाको भनाइ छ । बुद्ध प्रावि, साम्दो आधारभूत विद्यालय, प्रोक आधारभूत विद्यालय र सिप्चेत प्राविमा पनि कक्षा घटुवा गरेर ईसीडीसम्म मात्र सञ्चालन गरिएको स्रोतव्यक्ति रोहिणीप्रसाद खनालले बताए । पाँच कक्षासम्म चलेको छेकम प्रावि र छुलेनिले प्राविमा पनि घटुवा गरेर तीन कक्षासम्म मात्र पढाइ हुन्छ । तिनमा पनि विद्यार्थी मुस्किलले १०–१२ जना मात्र हुने स्थानीय ङवाङ सोनामले जानकारी दिए ।

बन्द र घटुवा गरिएका विद्यालयका शिक्षक ल्हो आवासीय विद्यालय, नुब्री आवासीय विद्यालय, सेराङ आवासीय विद्यालय, बुद्ध आवासीय विद्यालय र बुद्ध आवासीय माविमा समायोजन गरिएको खनालले बताए ।
अन्नपूर्णबाट

Skip This
Skip This
Logo