हेटौंडा
गतवर्ष प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफू अभिभावक बनेर भर्ना गरेका दुई विद्यार्थी पास भएका छन् ।
मनहरी गाउँपालिका–६, जोगीटारस्थित राष्ट्रिय माविका सञ्जीत भ्लोन र जेशिका प्रजा पास भएको विद्यालयका प्रधानाध्यापक सूर्यबहादुर मोक्तानले जानकारी दिनुभयो । विद्यालयमा ती दुई बालबालिकाको अभिभावकको नाममा डोरमणि पौडेल उल्लेख छ ।
जेशिका ७ वर्षकी भइन् भने सञ्जीत पनि सोही उमेरका छन् । पास भएर जेशिका तीन कक्षामा गएकी छिन् । सञ्जीत भने दुईमा पुगेका छन् । सञ्जीत कक्षामा १६ औं स्थानमा रहेर प्रथम श्रेणीमा पास भए भने जेशिका ३९ औं स्थानमा छिन् ।
मुख्यमन्त्री पौडेल दुई बालबालिकालाई भर्ना गरे पश्चात् दुई पटक विद्यालय पुगेको प्रअ मोक्तानले बताउनुभयो । पौडेलले दुई बालबालिकालाई कति कक्षासम्म अभिभावकत्व प्रदान गर्ने होे निश्चित नभएको प्रअ मोक्तानले बताउनुभयो ।
यस्तै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले हेटौंडा—२ को सिद्धार्थ माविमा अभिभावकत्व लिनुभएका दुई विद्यार्थी पनि पास भएका छन् । रौतहटका निराकार रायमाझी र लीलाकर रायमाझी पास भएका हुन् ।
राष्ट्रियसभा सदस्य रामचन्द्र राईले हेटौंडा-१७, हटियामा लक्ष्मी निमाविमा अभिभावकत्व लिएका सामुयल दर्नाल पास भएका छन् । बालकक्षाबाट दर्नाल कक्षा–१ पुगेको विद्यालयमा प्रधानाध्यापक उदय उपाध्यायले जानकारी दिनुभयो । दर्नाल पढ्नमा अब्बल रहेको उहाँको भनाइ छ ।
प्रतिनिधिसभा सांसद् विरोध खतिवडाले महेन्द्रकिरण मावि मनहरीमा अभिभावकत्व लिनुभएका दुई विद्यार्थी पनि पास भए । सबिन थिङ र विश्वास थोक्रो दुवै जना २ कक्षामा गएका छन् । प्रदेशसभा सांसद् मुनु सिग्देलले महेन्द्रकिरण मावि बसामाडीबाट अभिभावकत्व लिएका कविता पाख्रिन प्रथम भएकी छन् । उनी कक्षा–५ मा पुगेकी छन् । उनी पढ्नमा तेज रहेको विद्यालयले जानकारी दिएको छ ।
गतवर्ष सरकारले विद्यालयबाहिर रहेका बालबालिकालाई कक्षाकोठासम्म ल्याउन र भर्ना भएकै दिन पूरा सेट पाठ्यपुस्तक उपलब्ध गराउने उद्धेश्यसाथ भर्ना अभियान घोषणा गरिएको थियो । त्यही अनुरुप मकवानपुरमा जनप्रतिनिधि तथा विभिन्न निकायमा व्यक्तिले विद्यार्थी भर्ना गर्नुभएको हो । मकवानपुरबाट ८८ जनाले अभिभावकत्व लिएका थिए । मन्त्रीदेखि सांसद्, वडाध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा जिल्ला प्रमुख अभिभावकत्वमा संलग्न थिए ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया