काठमाडौँ
जल तथा मौसम पूर्वानुमान महाशाखाले देशैभर बुधबारको मौसम सामान्यदेखि पूर्ण बदली रहने सूचना जारी गरेको छ ।
पश्चिमी क्षेत्रका अधिकांश क्षेत्रहरुमा तथा पूर्वी तथा मध्य क्षेत्रका केही स्थानहरुमा चट्याङ तथा हुरी बताससहित हल्कादेखि मध्यम वर्षा–असिना पानीको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
यस्तै तराईका स्थानहरुमा हुरीबतासको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली भूभागहरुमा हिमपातको सम्भावना रहेको मौसमविदले जनाएका छन् । यसैबीच सरकारले देशभरी हावाहुरीबाट सतर्क रहन सबैलाई अपिल गरेको छ ।
विगतका वर्षमा चैत वैशाखमा पर्ने पानी दुई–चार पटक परेर टङ्गिन्थ्यो । उखरमाउलो गर्मीपछि जेठका अन्तिम वा असारको पहिलो साता बल्ल मनसुन भित्र्न्थ्यो तर पूर्व मनसुन अर्थात् प्रि– मनसुन नै यो पटक भने वर्षा जस्तै भएको छ ।
दक्षिण एसियाली मौसम प्रणालीमा निर्भर नेपालमा यो वर्ष हिउँद सकिने वित्तिकै सुरु भएको प्रि–मनसुन निकै बलियो बनेको मौसमविद्हरुले बताए । प्रशान्त महासागरको पूर्वीय, पश्चिमी र केन्द्रको वायुको तापक्रम र समुद्रको पानीको तापक्रमको आधारमा ‘एलनिनो’ वा ‘लानिना’ मौसम प्रणालीको अनुमान गरिन्छ ।
तातो तापक्रम भएमा ‘एलनिनो’ विकसित हुन्छ अनि चिसो तापक्रम भएमा ‘लानिनो’ विकसित हुन्छ । एलनिनोले पानी पर्ने छाँट देखाउँछ भने लानिनाले बढी पानी पर्ने सङ्केत गर्छ । एलनिनो कमजोर रहँदा स्थानीय र अन्य वायुको प्रभाव थपिँदा पानी पर्ने क्रममा घटबढ भइरहन्छ । अहिले एलनिनोको प्रभावले पूर्व मनसुन बलियो भइरहेको मौसमविद्हरूको भनाइ छ ।





























प्रतिक्रिया