हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोज्ने पक्राउ

हतौडाले एटिएम फुटाएर पैसा निकाल्न खोज्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

राजधानीको तीनकुनेमा एक व्यक्तिले हतौडाले एटिएम फुटाएर पैसा निकाल्ने प्रयास गरेका छन् ।

रामेछाप घर भई काठमाडौं महानगरपालिका ३२ डिल्लीबजार क्षेत्रमा बस्ने १८ वर्षीय दीपक तामाङले मंगलबार राती करिब १० बजेको समयमा तीनकुनेस्थित एनसीसी बैंकको एटिएम हतौडा, फलामको छिनो र मार्तोल प्रयोग गरी फुटाउने प्रयास गरेका थिए । दीपकले सिसीटिभी क्यामेरा फुटाएर एटिएम मेसिन तोडफोडको प्रयास गरिरहँदा प्रहरीले घटनास्थलबाट रंगेहात पक्राउ गरेको थियो ।

महानगरीय प्रहरी परीसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले तामाङ् यसअघि पनि चोरी तथा लुटपाटका घटनामा संलग्न रहेको देखिएको बताए । ‘यसभन्दा अघि पनि तामाङको आपराधिक गतिविधिमा संलग्नता भेटिएको छ, उनीमाथि थप अनुसन्धान भइरहेको छ’, उनले भने, ‘सीसीटिभी र अन्य गतिविधिको सुक्ष्म अध्ययन गरिरहेका छौं, उसले अहिलेसम्म बोलेको छैन ।’

यसअघिका एटिएम चोरीमा पनि तामाङको संलग्नता हुनसक्ने प्रहरीको आशंका छ । प्रहरीले एटिएम फुटाउन प्रयोग भएको हतौडा, फलामको छिनो, र मार्तोलसहित तामाङ्लाई नियन्त्रणमा लिएको थियो ।
नागरिकबाट

Logo