सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की, ५० लाख रुपैयाँ माग

सांसद राजेन्द्र लिङ्देनलाई ज्यान मार्ने धम्की, ५० लाख रुपैयाँ माग


काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनलाई धम्क्याउँदै ५० लाख रुपैयाँ माग्ने युवक पक्राउ परेका छन् । झापाका तिलकदास पराजुलीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो ।

पराजुलीले आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रुपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए । एक साता अघिदेखि धम्की आए पनि लिङ्देनले प्रहरीमा उजुरी गरेका थिएनन् । सोमबार उनले सामाजिक सञ्जाल ट्विटरमा यसबारे स्टाटस लेखेका थिए । त्यसपछि प्रहरीले छानबिन गरी पराजुलीलाई पक्राउ गरेको हो ।

पराजुली वैदेशिक रोजगार ठगीका फरार अभियुक्त भएको खुलेको छ । आफ्नो १६ लाख रुपैयाँ डुबेपछि धम्क्याएर पैसा कमाउने बाटो रोजेको उनले प्रहरीलाई बताएका छन् । ‘विदेश पठाउने भन्दै ठगी गरेपछि उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ,’ सिआइबीका एसपी उमाप्रसाद चतुर्वेदीले भने ।
नयाँ पत्रिकाबाट

Logo