काठमाडौँ
विश्वकै सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न सरकारी टोली बुधबार सगरमाथातर्फ जाँदैछ । नापी विभागका प्रमुख नापी अधिकृत खिमलाल गौतमको संयोजकत्वमा चार जनाको टोली सगरमाथा क्षेत्रतर्फ जाने उचाइ मापन कार्यक्रमका संयोजक सुशील डंगोलले जानकारी दिए ।
चार जना मध्ये खिमलाल गौतम र रविन कार्की सगरमाथाको टुप्पोसम्म जानेछन् । गौतमले सन् २०११ मा निजामती कर्मचारी सगरमाथा आरोहण दलको सदस्य भई सगरमाथाको आरोहण गरिसकेका छन् । सुरजसिंह भण्डारी र युवराज धिताल भने सगरमाथा आधार शिविरमै बस्ने संयोजक डंगोलले जानकारी दिए । यसअघि सन् १९५४ मा भारतको नापी विभागको टोलीले सगरमाथाको उचाइ नापेको थियो ।
सगरमाथाको टुप्पोसम्म जाने दुई आरोहीले यो सिजन सुरु भए लगत्तै आरोहण थाल्नेछन् । करिब एक महिना लाग्ने आरोहणबाट उनीहरू फर्केपछि र खुम्बु क्षेत्रको कम्तीमा ८ स्थानमा गरिएको उचाइको मापन प्राप्त भएपछि आधुनिक उपायबाट तथ्यांक अध्ययन गरिने नापी विभागले जनाएको छ । उक्त तथ्यांकको अध्ययन विदेशमा नभई नापी विभागमा नै गरिने संयोजक डंगोलले बताए । उनले भने, ‘सगरमाथाको टुप्पोबाट र विभिन्न ८ स्थानबाट संकलित तथ्यांकलाई एकीकृत रूपमा अध्ययन गरिनेछ, यो अध्ययन हामी नापी विभागमा नै गर्नेछौं ।’
सगरमाथाको उचाइको अन्तिम रिपोर्ट सन् २०१९ को डिसेम्बरसम्म आउने संयोजक डंगोलले जनाए । उनले भने, ‘जतिसक्दो छिटो रिपोर्ट तयार पार्न खोज्छौं, तर यो अलि जटिल प्रकारको अध्ययन हुने भएकाले डिसेम्बर अन्तिमसम्ममा ल्याइ सक्नेछौं ।’ सगरमाथाको उचाइ मापनकै लागि भनेर चालू आर्थिक वर्षमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया