काठमाडौं । सोमबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको कार्यक्रममा प्रहरीले एकाएक बल प्रयोग गर्यो । काठमाडौंको पद्मोदय मोडदेखि पुतलिसडक खण्डमा राप्रपाको कार्यक्रम भईरहेको थियो । दिउँसोको २ बजेतिर राप्रपा अध्यक्ष कमल थापाले सम्बोधन गरिरहेका थिए । सम्बोधनकै क्रममा प्रहरीले निर्धारित समय सकियो, कार्यक्रम बन्द गर्न निर्देशन दियो । तर अध्यक्ष थापाको भाषण नसकिएकाले केही बेर लम्बिने अवस्थामा पुग्यो ।
आफुहरुको निर्देशन नमानेको भन्दै अध्यक्ष थापा चढेर भाषण गरिरहेको भ्यान नै चलाएर प्रहरी अगाडि बढ्यो । राप्रपा नेता तथा कार्यकर्ताहरु प्रहरीसँग बाझ्न पुगे । त्यही क्रममा प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गर्यो । लाठी प्रहारसँगै प्रहरीले अश्रुग्यास पनि हान्यो । पद्मोदय मोडदेखि पुतलिसडक खण्ड एकैछिनमा रणभूमिमा परिणत भयो । यता राप्रपा कार्यकर्ताहरु पनि प्रतिकारमा उत्रिए ।
उनीहरु प्रहरीमाथि ढुंगा मुढा प्रहार गर्दै नाराबाजीमा उत्रिए । प्रहरी झन आक्रामक बनेर अन्धाधुन्ध लाठी बर्साउन थाल्यो । प्रहरीले राप्रपा महिला नेतृ तथा कार्यकर्ताहरुमाथि पनि जाई लाग्यो । प्रत्यक्षदर्शी पुष्पराज पुरुषका अनुसार प्रहरीले महिलामाथि जुत्तै जुत्ता र लाठीले हिर्काउन थाले । घाइते भएर लडेका महिलाहरुमाथि पनि प्रहरीले लाठी तथा जुत्ता बसाईरह्यो ।
हिर्काउदाँ हिर्काउँदै प्रहरीको लाठी नै भाचियो । त्यति गर्दा पनि प्रहरीले लाठी बर्साउन छाडेन् । पद्मोदय मोडदेखि पुतलिसडक खण्डको एकातिरको बाटो खुल्ला गरिदिन प्रहरीको अनुरोध एकैछिन नमान्दा शान्तिपूर्ण आन्दोलन रणभूमिमा परिणत भएको उनको भनाई छ । प्रहरीको लाठी लागेर ३० भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएको राप्रपाले जनाएको छ ।
सनातन धर्म सापेक्ष हिन्दु राष्ट्रको माग गर्दै राप्रपाले गरेको जनसंघर्ष कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रहरीले बल प्रयोग गरेर दुई दर्जन नेता तथा कार्यकर्ता घाइते भएका राप्रपाले जनाएको छ । प्रहरीको लाठी लागेर पूर्व गृहमन्त्री निरन्जन थापा, सह–महामन्त्री भरत रायमाझी, विक्रम बहादुर थापा, कुन्ती शाही, प्रकास रिमाल, महेश बहादुर सिंह, छात्र कडायत लगायत नेता तथा कार्यकर्ता घाइते भएका थिए ।





























प्रतिक्रिया