काठमाडौं । नेपालको तराई क्षेत्रमा फेरि हावाहुरी आउने मौसमविद्हरुले चेतावनी दिएका छन् । संयुक्त प्रणाली अर्थात नेपाली आकाशमा मल्टिपल देखिएपछि मौसममा खराबी आएको भन्दै मौसमविद्हरुले फेरि तराईमा हावाहुरी चल्न सक्ने चेतावनी दिएका हुन् ।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् विभूति पोखरेलले अहिले पश्चिमी वायु, न्यून चापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीमा विकसित प्रणालीको एकसाथ प्रभाव पारिरहेको बताए । जसका कारण आज मुलुकका विभिन्न स्थानमा मेघ गर्जनसहित पानी पारिरहेको उनको भनाई छ ।
पोखरा आसपास विकसित भएको प्रणाली काठमाडौं हुँदै पूर्वतिर सरिसकेको छ । पोखरादेखि पूर्वतिरको मौसममा खराबी देखिए पनि पश्चिमी क्षेत्रको मौसममा खासै प्रभाव नपरेको मौसमविद् पोखरेलको भनाई छ ।
शनिबार छिनमै मेघ गर्जनसहित पानी पर्ने र लगत्तै घाम लाग्ने भईरहेको छ । यो प्रणालीले पोखरादेखि पश्चिमका क्षेत्रमा खासै असर नगर्ने भएपनि प्रि–मनसुनमा छिनछिनमा मौसम परिवर्तन हुने भएकाले पानी पर्ने सम्भावना कायमै रहेको उनको भनाई छ ।
तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको उनको भनाई छ । देशको पश्चिमी तथा मध्य भूभागका केही स्थानमा र पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जने र चट्याङसहित हुरी बतासका साथ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यसअघि गत आईतबार बारा र पर्सामा हावाहुरीका कारण २८ जनाको मृत्यु भएको थियो । ६ सय भन्दा बढी घाइते भएका थिए । उक्त हावाहुरीका कारण झण्डै १५ सय घरमा क्षति पुगेको छ । उक्त हावाहुरीबारे पूर्वानुमान गर्न नसक्दा ठूलो क्षति पुगेको थियो ।
शनिबार दिउँसो मुलुकका अधिकांश भूभागमा सामान्यतः बदली रहने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही स्थानमा मेघ गर्जने र चट्याङसहित हुरीबतासको सम्भावना भएकाले सुरक्षित हुन सबैमा आह्वान गरिन् । साथै हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा पनि हुरीबतास चल्ने सम्भावना छ ।
यसैगरी, शनिबार राति पनि मुलुकका अधिकांश भूभागमा बदली रहनेछ । ‘देशको पूर्वी तथा मध्य भूभागका केही स्थानहरूमा र पश्चिमी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ,’ मौसमविद् पोखरेलले भनिन्, ‘हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ । तराईका भूभागमा हुरीबतास चल्ने सम्भावना देखिन्छ ।’
आइतबार पनि हुरीबताससहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आइतबार दिउँसो देशभरका धेरैजसो भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी तथा मध्य भूभागका थोरै स्थानमा र पश्चिमी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना देखिन्छ ।
यसैगरी, आइतबार राति मुलुकको पूर्वी क्षेत्रका अधिकांश भूभागमा सामान्य बदली तथा मध्य र पश्चिमी क्षेत्रको भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । देशको पूर्वी भूभागका थोरै स्थानमा मेघ गर्जनका साथ हल्का वर्षाको सम्भावना रहेसँगै शनिबार साँझ पश्चिम र मध्य तराईका केही स्थानमा हुरीबतास चल्ने महाशाखाले जनाएको छ ।































प्रतिक्रिया