काठमाडौँ
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टा भन्दा बढी हुनु पर्नेमा नौ घन्टा मात्रै भएको लगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ ।
वाइडबडीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । यस्तो आम्दानीमा यसको उडान खर्च नै दुई अर्ब १२ करोड छ । अन्य खर्च पनि अत्यधिक हुन्छ । निगमले गरेको आम्दानी र खर्चको तुलनामा साउनदेखि पुससम्म एक अर्ब ६६ करोड रुपैयाँ घाटामा गएको निगमका सहप्रवक्ता नवराज कोइरालले बताए । उनले भने, ‘यो घाटा मासिक औसतमा २७ करोड रुपैयाँभन्दा बढी हो ।’
निगमले वाइडबडी जहाज किन्न लिएको २४ अर्ब ऋणबापतको किस्ता नै हरेक ३/३ महिनामा ८० करोड ८२ लाख रुपैयाँका दरले तिर्नुपर्छ । मासिक वाइडबडीको तिर्ने यस्तो किस्ता २६ करोड ९४ लाख रुपैयाँ हुन्छ । ‘निगमको वाइडबडीले लामो दूरीको उडान गन्तव्य अन्तर्गत जापान, कोरिया र चीनमा उडान गर्ने तयारी गरेको छ । जबसम्म वाइडबडीले लामो दूरीमा उडान गर्न सक्दैन तबसम्म यसले कमाएको पैसाले यसैको खर्च धान्न सक्दैन’, कोइरालाले भने ।
वाइडबडीले साउनदेखि पुससम्ममा एक लाख ३४ हजार पाँच सय ७३ जना यात्रु र ६ लाख ९४ हजार २० किलो कार्गो बोकेको छ। वाइडबडीले मासिक ७० प्रतिशतभन्दा बढीको सिटमा यात्रु उडान गरिहेको छ । यसको औसत सिट उपभोग ७२ प्रतिशत छ ।
अन्नपूर्णबाट





























प्रतिक्रिया