लगानी सुरक्षित, नाफा सुनिश्चित- प्रधानमन्त्री

लगानी सुरक्षित, नाफा सुनिश्चित- प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीकर्ताहरुको लगानी सुरक्षित गर्न र नाफा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । राजधानीमा लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले लगानीकर्ताहरुलाई नेपालमा ढुक्कसँग लगानी गर्न आह्वान गरेका हुन् ।

‘एक वर्षअघि रारा तालको किनारबाट नेपालको विकासको खाका प्रस्तुत गर्दा मैले हाम्रा मित्र तथा हितैसीहरुसँगको सहकार्य आवश्यक रहेको कुरामा जोड दिएको थिएँ,’ प्रधानमन्त्री ओलीले भने, ‘आज यो सम्मेलनमा हाम्रो निमन्त्रण स्वीकार गरेर महत्वपूर्ण कार्यक्रममा सहभागी आउनुभएका मित्रहरुलाई देख्दा निकै खुसी लागेको छ ।’

सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखिने छ । सम्मेलनलाई लक्षित गरेर राजधानी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको छ ।

नेपाल सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई मूर्तरुप दिन र दिगो लक्ष्य हासिल गर्ने सन्दर्भमा सम्मेलन कोसेढुङ्गा सावित हुने विश्वास गरिएको छ । सम्मेलनमा ४० देशका उच्चस्तरीय प्रतिनिधिमण्डललगायत ६०० बढी लगानीकर्ताको सहभागिता रहेको छ । यस्तै गैरआवासीय नेपाली सङ्घ र स्वदेशी लगानीकर्ताको उल्लेख्य सहभागिता छ ।

सरकारले सम्मेलनमार्फत विश्वलाई नयाँ नेपाल निर्माणको सन्देश दिन चाहेको छ । प्रशस्त प्राकृतिक स्रोतसाधन र उद्योगधन्दाका लागि उपयुक्त वातावरण बनेकाले नेपालमा विदेशी लगानीकर्ता आकर्षित हुने अपेक्षा गरिएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले स्वागत मन्तव्य व्यक्त गर्दै सरकारले विकास र समृद्धिका लागि अघि सारेका कार्यक्रम र लगानीका क्षेत्रहरु बारेमा जानकारी गराएका थिए ।

Logo