विप्लव समूहद्धारा चैत १६ गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

विप्लव समूहद्धारा चैत १६ गते नेपाल बन्दको घोषणा (विज्ञप्तीसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले चैत १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको छ । पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित देशैभरीबाट आफ्ना नेता र कार्यकर्ता पक्राउ परेको विरोधमा १६ गते शनिबार नेपाल बन्दको घोषणा गरेको महासचिव विप्लवद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गत फागुन २८ गते सरकारले प्रतिबन्ध लगाएपछि विप्लव नेकपाका नेता कार्यकर्ता देशभरबाट पक्राउ पर्ने क्रम बढेको छ । सो पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा आफ्नो पार्टीमाथि प्रतिबन्ध घोषणा गर्दै वर्तमान सरकारले चरम फासिवाद लादेको आरोप लगाइएको छ । विज्ञप्तिमा सरकारले प्रतिबन्ध र दमनलाई हटाउनुको सट्टा चर्काएर देशलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजेको टिप्पणी गरिएको छ ।

विध्वंशकारी गतिविधिलाई श्रृंखलाबद्ध रुपमा निरन्तरता दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाइमा सरकारले विप्लवको नेकपामाथि प्रतिबन्ध लगाएको थियो । यहि चैत्र १५ र १६ गते लगानी सम्मेलन हुन लागेका बेला विप्लवको नेतृत्वको नेकपाले १६ गते नै नेपाल बन्दको घोषणा गरेपछि सम्मेलनमा असर पुग्ने उद्योगीहरु बताउँछन् । चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गर्दै विप्लवले पार्टी  स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमको मिति सार्वजनिक गरेको छ ।

विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख छ ।

Logo