डोटी । डोटीका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अनन्त कुमार पौड्यालमाथि कालोमोसो दलिएको छ । आइतबार दिउँसो नेपाल विद्यार्थी संघ (नेविसंघ) का कार्यकर्ताले पौड्यालको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । कालोमोसो दलेपछि नेविसंघका कार्यकर्ताहरुले प्रेस विज्ञप्ती जारी गर्दै विभिन्न आरोप लगाएका छन् ।
विद्यालयका भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनाहरुमा आफन्तहरुमार्फत पौड्यालले १० प्रतिशत कमिशन खाने गरेको, कमिशन नपाएका योजना सम्पन्न भएपश्चात पनि मूल्यांकन नगर्ने, नगराउने गरेको, विद्यालय व्यवस्थापन समितिको अधिकार मिचेर करार शिक्षकहरु नियुक्त गर्ने गरेको, करार शिक्षक नियुक्त गर्दा ४ महिनासम्मको तलब खाने गरेको र प्रश्न पत्र समेत आउट गर्ने गरेको उनीहरुको आरोप छ ।
त्यस्तै अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको रकम राजश्वमा जम्मा नगरी अनावश्यक खर्च गरेको, बढुवा हुने शिक्षक संख्या लुकाएको र शिक्षक महासंघले दवाव दिएपछि मात्र सार्वजनिक गरेको, आइतबारदेखि शुरु भएको एसईईका लागि केन्द्राध्यक्ष छनौट गर्दा योग्यता र क्षमताको आधारमा नभइ राजनीतिक कोटाका आधारमा छानेको, कमिशन नमिल्दा करार शिक्षकको परीक्षा नतिजा ४र५ महिनासम्म रोकेको आरोप छ ।
यसैगरी कमिशन उठाउन कृषि विकास विकास बैंक, गट्ठाघर भक्तपुरमा चन्द्रमाया कोईरालाको नाममा रहेको खाता नं. ०२–१२३–००७५५–१८६–०१९ र राष्ट्रिय वाणिज्य बैंक बानेश्वर काठमाडौंमा अरुण पौडेलको नाममा रहेको खाता नं. १४२००७०१५१० लगायतका खाता नम्बर विद्यालयका प्रअहरुलाई बाँडेको, विदाका दिनमा सरकारी गाडी दुरुपयोग गरेको र शिक्षा क्षेत्रमा समस्या समाधान गर्नुभन्दा राजनीतिक पूर्वाग्रह राखेर कर्मचारीलाई दुःख दिने गरेको नेविसंघको आरोप छ ।





























प्रतिक्रिया