प्रमुख निर्वाचन आयुक्त यादवले अवकाश लिए

प्रमुख निर्वाचन आयुक्त यादवले अवकाश लिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले आईतबारबाट अवकाश लिएका छन् । २०६३ सालयता २ कार्यकाल प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका प्रमुख निर्वाचन आयुक्त यादवले आईतबारबाट अवकाश पाएका हुन् ।

यादवलाई कान्तिपथस्थित निर्वाचन आयोगका कार्यालयमा आईतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ । विदाई समारोहमा अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले ११ महिना भित्र संघ, प्रदेश, स्थानीय तहलगायतका ८ वटा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन पाएकोमा आफूलाई गौरवको अनुभूति भएको प्रतिक्रिया दिए । उनले लोकतन्त्रको सवलीकरणका लागि इमान्दारिताका साथ आफ्नो सवैधानिक दायित्व पूरा गर्न निर्वाचन आयोग सधैं सफल हुने विश्वास पनि व्यक्त गरे ।

अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन गर्ने मिति कानुनमै व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरे । आम निर्वाचन लगायतका सबै निर्वाचनलाई सहज ढंगले सम्पन्न गर्न निर्वाचन कानुनमै निर्वाचनको मितिसहितको कार्यतालिका तय हुनुपर्ने उनको तर्क छ । यादवले विभिन्न तहका लागि गर्नुपर्ने उपनिर्वाचनको काममा पनि ढिलाई नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संघ, प्रदेश र स्थानीय तहको निर्वाचन छोटो समयमै सम्पन्न गराउन अवकाश प्राप्त प्रमुख निर्वाचन आयुक्त यादव सफल भएका थिए । उनले निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी पहिलो पटक २०६३ सालमा पाएका थिए । निर्वाचन आयोगको नेतृत्वको रुपमा सफल भएका यादवको पहिलो भन्दा दोस्रो कार्यकाललाई सफल मानिन्छ । यादवको अवकाशसँगै कार्यबहाक प्रमुख निर्वाचन आयुक्तको कार्यभार आयोगकी आयुक्त इला शर्माले सम्हाल्ने छिन् ।

Skip This
Skip This
Logo