राजपाद्वारा पाँचौं पटक संसद बैठक अवरुद्ध

राजपाद्वारा पाँचौं पटक संसद बैठक अवरुद्ध


काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) सांसदहरुले आइतबारको संसद बैठक पनि अवरुद्ध गरेका छन् । मधेस आन्दोलन लगायतका आन्दोलनमा भएका घटनाको छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद अवरुद्ध पारेका हुन् ।

राजपा नेता लक्ष्मणलाल कर्णले सरकारले पटक पटक आश्वासन दिए पनि लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै आजको संसद बैठक पनि अवरुद्ध गरिएको बताए । लगत्तै राजपा सांसदहरु सिटबाट उठेर विरोध जनाए । त्यसपछि सभामुख कृष्णबहादुर महराले १० मिनेटका लागि संसद स्थगित गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपाले पाँचौं पटक संसद अवरुद्ध गरेको हो । सरकारले पटक पटक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाए पनि सार्वजनिक गरिएको छैन् ।

मधेस आन्दोलन एवं थारु आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनका घटनाबारे छानविन गर्न सरकारले ०७३ साल असोज २ गते पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा न्यायिक आयोग गठन गरेको थियो।

कुल ३ हजार २६४ वटा उजुरीमाथि छानविन गरेर आयोगले ०७४ साल माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। तर, अहिलेसम्म सरकारले लाल आयोगको सो प्रतिवेदन सार्वनिक गरेको छैन।

प्रतिवेदन सार्वजनिक नभएसम्म सदन चल्न नदिने राजपाले चेतावनी दिँदै आएको छ। आजै तीन बजे प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने तयारी रहेको छ।

Logo