काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्र हितविपरीत र द्वैध अर्थ लाग्ने भएको आरोप लगाएका छन् ।
१८ दिन अघि ताप्लेजुङबाट सो पार्टीले सुरु गरेको मेची–महाकाली स्वाभिमान यात्राको शुक्रबार काठमााडौंमा समापन गर्दै थापाले सरकार र राउतबीच भएको सम्झौता शंकास्पद भएको आरोप लगाए ।
गलत राजनीतिक अभ्यासका कारण मुलुकमा विखण्डनकारी मुद्दाले प्रवेश पाएको बताउँदै थापाले भने, ‘यसअघि कहिले पनि विखण्डनकारी मुद्दाले प्रवेश पाएन । अधिकारको मुद्दा आउँथ्यो तर पछिल्लो १२ वर्षमा गलत राजनीतिक अभ्यासका कारण विखण्डनकारी मुद्दाले प्रवेश पाएको छ ।’
भ्रष्टाचार रोक्छु भन्ने प्रधानमन्त्रीको नारा हावादारी साबित भएको ठोकुवा गर्दै उनले भने, ‘प्रधानमन्त्रीज्यू सक्नु हुन्छ भने वाइड बडी कान्ड, एनसेल कान्ड र सुन कान्डका दोषीलाई पक्राउ गरेर देखाउनु होस् । अनि नेपाली जनताले तपाईंको जय–जयकार गर्नेछन् ।’
सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको विषयमा उनले भने, ‘प्रधानमन्त्रीज्यूले विप्लव समूहलाई लुटेराहरूको संस्था हो भन्नुभयो । विप्लव लुटेरा हुन् कि होइनन् मलाई थाहा भएन तर लुटेराहरू बालुवाटारमै बसेका छन् । सक्नु हुन्छ भने तपाईंले उनीहरूलाई पक्राउ गरेर देखाउनु होस् ।’ हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने माग सरकारले तत्काल सम्बोधन नगरे मुलुकमा ‘महाभारत युद्ध’ सुरु हुने चेतावनी दिँदै थापाले भने, ‘पाँच पाण्डवको माग पूरा नगर्दा महाभारत युद्ध सुरु भए जस्तै हाम्रो पार्टीको माग सरकारले तत्काल पूरा नगरे मुलुकमा अर्को युद्ध सुरु हुनेछ ।’
नागरिकबाट





























प्रतिक्रिया