दाहालका वरिपरि ५९ सुरक्षाकर्मी !

दाहालका वरिपरि ५९ सुरक्षाकर्मी !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले मार्न खोजेको बताएपछि उनीमाथिको सुरक्षा थ्रेटबारे चर्चा सुरु भएको छ । आफूलाई मारेर समस्या समाधान नहुने धारणा दाहालले बिहीबार एक कार्यक्रममा व्यक्त गरेका थिए । के दाहाललाई सुरक्षा थ्रेट बढेकै हो त ?

सुरक्षा थ्रेटबारे दाहाल आफैंले पटकपटक बोलेपछि यसबारे सुरक्षा निकायले समेत चासो राख्दै विश्लेषण सुरु गरिसकेका छन् । सुरक्षा स्रोतका अनुसार अन्य राजनीतिक नेताको तुलनामा दाहाललाई विप्लव समूहबाट नै सबैभन्दा बढी सुरक्षा थ्रेट छ । राष्ट्रिय अनुसन्धान विभागको सूक्ष्म अनुसन्धानबाट विगतमा सँगै युद्ध लडेका तर चरम असन्तुष्ट बनेका समूहबाट नै सुरक्षा थ्रेट रहेको स्रोतले बतायो ।

गृह मन्त्रालय उच्च स्रोतका अनुसार विगतमा आफू नेतृत्वमा रहेको दलबाट फुटेको समूहबाट थ्रेट महसुस गरेपछि दाहालले बाध्य भएर खतरा रहेको अभिव्यक्ति दिएका हुन् । ‘विगतमा सँगै युद्ध लडेका नेत्र विक्रम चन्द र असन्तुष्ट पक्षबाट उहाँलाई थ्रेट छ, यसको मात्रा पनि बढी नै । यसो हुनुका पछाडि विगतमा माओवादी पार्टीप्रति असन्तुष्ट समूह र त्यो समूहलाई परिचालन गर्ने जुनसुकै पक्षबाट पनि उहाँलाई थ्रेट भएको हो’, मन्त्रालय स्रोतले भन्यो, ‘शान्ति प्रक्रियाप्रति असन्तुष्ट समूह नै बढी खतरनाक छ ।’

दाहालले आफूलाई सुरक्षा थ्रेट भएको अभिव्यक्ति दिए लगत्तै सरकारले सार्वजनिक जीवनमा रहेका सबै व्यक्तिउपरको सम्भावित सुरक्षा खतरा विश्लेषण गरी आवश्यक सुरक्षा व्यवस्था गर्न सुरक्षा निकायलाई निर्देशनसमेत दिएको छ । गृह मन्त्रालयले सबै सुरक्षा निकायलाई विशिष्ट व्यक्तिहरूको सुरक्षाका लागि विशेष ध्यान दिन समेत निर्देशन दिइसकेको छ ।

स्रोतका अनुसार दाहालको सुरक्षामा नेपाल प्रहरीका एक डिएसपीको नेतृत्वमा २९ र डिएसपीकै नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटाइएको छ। ‘अरु पूर्वप्रधानमन्त्रीहरु कसैलाई पनि यो तहको सुरक्षा थ्रेट छैन। दाहाललाई थ्रेट भएरै ५९ जनाको सुरक्षा दस्ता खटाएको हो’, स्रोतले भन्यो ।
नागरिकबाट

Skip This
Skip This
Logo