न्यायाधीश कम हुँदा सर्वोच्चमा कार्यबोझ बढ्यो

न्यायाधीश कम हुँदा सर्वोच्चमा कार्यबोझ बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सर्वोच्च अदालतले २ हजार दुई सयको संख्यामा रहेका पाँच वर्ष अघिका मुद्दालाई एक हजार ६ सयमा झारेको सर्वोच्च अदालतले दाबी गरेको छ । मुद्दा सुनुवाई तथा फैसलाका काममा ढिलाई भएको सेवाग्राहीको गुनासो बढिरहेका बेला मुख्य रजिष्टार नृपध्वज निरौलाले भने एक वर्ष भित्रै पुराना मुद्दाहरु फैसला गरी शून्यमा झार्ने योजना सुनाए ।

यता लामो समयदेखि फैसलाका पूर्णपाठ नआइरहेका बेला पुराना फैसला लेख्नलाई पनि प्रभावकारी रूपमा अघि बढिरहेको दाबी गरे । न्यायपालिकाको छिटो, प्रभावकारी तथा निष्पक्ष न्यायका लागि न्यायिक अनुगमन र नीतिगत सुधारका प्रयास भइरहेको पत्रकारहरुसँग निरौलाले बताए । उनले मुद्दा तथा पेशी व्यवस्थापनका कार्यलाई पनि प्रभावकारी बनाएको दाबी गरे ।

उनले सर्वोच्चमा न्यायाधीशको संख्या संविधानले तोकेको दरबन्दी भन्दा कम भएकाले पनि कार्यबोझ बढेको बताए । मुख्य रजिष्टार निरौलाले यसअघि २५ जना सम्म न्यायाधीशको दरबन्दी सर्वोच्चमा भएको र नयाँ संविधानले प्रधानन्यायाधीशसहित २१ जनासम्म न्यायाधीश रहने व्यवस्था रहे पनि सर्वोच्चमा कार्यबोझ बढेको जिकिर गरे । अहिले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले पदबाट राजीनामा दिएपछि १६ जना न्यायाधीश रहेका छन् ।

उनले मुद्दाका पक्ष, सेवाग्राही तथा न्यायका उपभोक्ताहरुबाट आएका गुनासा, उजुरी तथा पिरमर्काहरुको तत्काल सम्बोधन गर्ने गरी प्रयास भइरहेको बताए । न्यायपालिकाको सूचना पद्धतिलाई प्रभावकारी बनाउन सबै अदालतहरुमा रहेका मुद्दा व्यवस्थापन सम्बन्धी सफ्टवेयरहरुको इन्टिग्रेशन लगायत विभिन्न सफ्टवेयरहरुको निर्माणको कार्य सुरु गरिसकेको पनि बताए ।
नयाँ पत्रिकाबाट

Logo