जब राष्ट्रपतिको लागि विछ्याईएको रेड कार्पेटमा सर्प देखियो…

जब राष्ट्रपतिको लागि विछ्याईएको रेड कार्पेटमा सर्प देखियो…

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रुबार अमेरिका भ्रमण पूरा गरेर स्वदेश फर्किईन् । उनको स्वागतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा रेड कार्पेट विच्छ्याइएको थियो ।

भण्डारी साढे ३ बजे कतार एयरको विमानमार्फत अवतरण गर्दै थिइन् । उनको स्वागतका लागि उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायत विमान अवतरण हुनु अगावै विमानस्थल गएका थिए ।

स्वागतका लागि केही विशिष्ठ व्यक्ति आउने क्रम जारी नै थियो, ठिक त्यति नै वेला एउटा सर्प राष्ट्रपतिको स्वागतका लागि विछ्याइएको रातो कार्पेटमा देखियो ।

उक्त सर्पले एकछिन त्यो रेड कार्पेटमा रमिता देखायो । सर्पको रमिता देखेर त्यहाँ उपस्थित व्यक्तिहरु समेत रमाए । कतिपयले क्यामरा र मोबाइल निकालेर त्यो दृश्य कैद गर्न थाले ।

केहीवेरमा सर्प आफैं एक छेऊतिर लाग्यो । त्यसको करिब ३० मिनेटपछि राष्ट्रपति भण्डारीलाई त्यही कार्पेटमा स्वागत गरियो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीगणलगायतले स्वागत गरे ।

त्यसै अवसरमा नेपाली सेनाले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी समेत अर्पण गरेको थियो । राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा संयुक्त राष्ट्र संघको ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गरेकी थिईन् ।

कार्यक्रममा नेपालले महिला अधिकार, लैगिक समानतालगायतका मानव अधिकारको क्षेत्रमा गरेको उल्लेख्य उपलब्धिहरु अन्तर्राष्ट्रिय समूदायलाई प्रस्तुत गरेर राष्ट्रपति भण्डारीले देशको छवीलाई झनै उचो बनाएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले अमेरिका बसाईको क्रममा महिलाको क्षमतामा नजरअन्दाज गर्ने सामाजिक दृष्टिकोणमा परिवर्तन गरेर महिलाहरुको सशक्तिकरणको अभियानलाई सफल बनाउन सकिने धारणा राखेकी थिईन् ।

त्यस अवसरमा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्र संघका महासचिव एन्टानियो गुटरेज, राष्ट्र संघ महासभाकी सभापति मारिया फर्नान्डा तथा इष्टोनियाका समकक्षी केरष्टि कलजुलैड र क्रोयसियाका राष्ट्रपति कोलिन्डा ग्राबरसँग पनि भेटवार्ता गरेकी थिईन् ।

तस्बिरः तारा भट्टराईको फेसबुकबाट

Logo