पहुँच नपुगेका ठाउँलाई प्राथमिकता : मन्त्री पण्डित

पहुँच नपुगेका ठाउँलाई प्राथमिकता : मन्त्री पण्डित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले भौतिक पूर्वाधार र सामाजिक विकासमा पछाडि परेका ठाउँलाई पहिलो प्राथमिकता दिएर योजना पठाउन आग्रह गरेका छन् ।

सिरहाको लहानमा बुधबार आयोजित तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत सिरहा र सप्तरीका स्थानीय तहका पदाधिकारीहरुका लागि अभिमुखीकरण कार्यक्रम उद्घाटन गर्दै मन्त्री पण्डितले अन्तर्राष्ट्रिय सीमासँग जोडिएका, पहुँच नपुगेका ठाउँ र जनताको समृद्धिका लागि योजना छनौट गरी कार्यान्वयन गरिनु पर्नेमा जोड दिए ।

‘स्थानीय जनसहभागिता बढी हुने, विवाद नहुने खालका योजना छनौट गरी कार्यान्वयन गर्दा प्रतिफल पाउन सकिन्छ’ मन्त्री पण्डितले भने, ‘आगामी आर्थिक वर्षदेखि कार्यसम्पादनको आधारमा कार्यक्रम छनौट गर्ने र त्यही अनुसार बजेट पनि दिइने छ ।’

विकट हिमाली जिल्ला भन्दा पनि मानवीय तथा सामाजिक विकासमा पछाडि रहेको तराई मधेसको समृद्धिका लागि मन्त्रालय मार्फत् ल्याइएको तराई मधेस समृद्धि कार्यक्रमबाट स्थानीय आवश्यकताको आधारमा स्थानीय तहले पठाएका योजनाहरु छनौटमा पर्ने बताए । ‘कार्यक्रम अन्तर्गत दिइएको बजेटमा बढी जनसहभागिता कसरी जुटाउन सकिन्छ भन्नेतिर पनि ध्यान दिइए स्थानीयको अपनत्व पनि बढ्छ र योजना दिगो बन्छ,’ मन्त्री पण्डितले भने, ‘त्यसका लागि कर्मचारी, जनशक्ति तत्काल जे छ, त्यही अनुसार व्यवस्थापना गरौं, सरकारले आवश्यकता अनुसारका कर्मचारीको व्यवस्थापन गर्दैछ ।’
नयाँ पत्रिकाबाट

Logo