सुर्खेत
कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा भएको खर्चबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ । प्रदेशसभाको सार्वजनिक लेखा समितिले पर्यटन वर्षको उद्घाटनमा लाखौं रकम अनियमितता भएको प्रतिवेदन सार्वजनिक गरेपछि अख्तियारले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।
उद्घाटनको खर्च विवरण उपलब्ध गराउन भन्दै अख्तियारले प्रदेश सरकार र मातहतका मन्त्रालयलाई पत्र काटेको छ । प्रदेश सरकारले वैशाख १ गते मुगुको रारामा पर्यटन वर्ष उद्घाटन गरेको थियो । उद्घाटनमा व्यापक आर्थिक अनियमितता भएको ठहर गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले कारबाही गर्न प्रदेश सरकारलाई निर्देशन दिइसकेको छ ।
लाखौं रकम अनियमितता भएको प्रश्न उठेपछि पर्यटन वर्षको उद्घाटनमा भएको खर्चमाथि आफूहरूले पनि अनुसन्धान थालेको अख्तियारको सुर्खेतस्थित कार्यालयले जनाएको छ ।
अनुसन्धानका लागि १५ दिनभित्र पर्यटन वर्षको खर्च विवरण उपलब्ध गराउन पत्राचार गरिएको अख्तियारले जनाएको छ । खर्च विवरण आउने बित्तिकै थप छानबिन गरिने अख्तियारको सुर्खेत कार्यालयका सूचना अधिकारी मेघनाथ सापकोटाले बताए । उनले भने, ‘लेखा समितिले अनियमितता भएको प्रतिवेदन सार्वजनिक ग¥यो, त्यस लगत्तै हामीले पनि प्रदेश सरकारसँग खर्च विवरण मागेका छौं ।
१५ दिनको समय दिएका छौं, विवरण प्राप्त हुने बित्तिकै थप छानबिन सुरु हुन्छ ।’ अनुसन्धानका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभागीय मन्त्रालय र अन्य जोडिएका निकायलाई पनि पत्र काटिएको अख्तियारले जानकारी दिएको छ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जेठ २५ गते संसदमा उद्घाटनमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेस गरेका थिए । तर महालेखा परीक्षकको प्रतिवेदनमा ८७ लाख १८ हजार ९ सय ७३ रुपैयाँ खर्च भएको उल्लेख छ । प्रदेश सरकारले भने लेखा समितिलाई ७८ लाख १६ हजार ९६ रुपैयाँ खर्च भएको विवरण उपलब्ध गराएको छ । खर्चको विवरण फरक आएका कारण पनि अनियमितता भएको प्रश्न उठेको हो ।
अन्नपूर्णबाट





























प्रतिक्रिया