काठमाडौं । युएस-बंगला विमान दुर्घटना भएको आज एक वर्ष पुरा भएको छ । गत वर्ष फाुगन २८ गते आजकै दिन त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्ने क्रममा युएस बंगला विमान दुर्घटना हुँदा ५१ जनाको ज्यान गएको थियो ।
दुर्घटनामा परी २० जना घाइते भएका थिए । उनीहरुमध्ये ८ जनाले मंगलबार पहिलो जन्मदिन मनाएका छन् । हात्तिसारको ‘गसिप’ रेस्टुरेन्टमा भेला भएर उनीहरुले आफ्नो पहिलो जन्मोत्सव मनाएका हुन् ।
लक्की ट्राभल्सका सञ्चालक सनम शाक्यसहित त्यस दिन दुर्घटनामा बाँचेकाहरू दयाराम ताम्राकार, आशिष रन्जित, विनोदराज पौडेल, वसन्त बोहोरा, हरिप्रसाद सुवेदी, केशव पाण्डे र किशोर त्रिपाठीले पहिलो जन्मोत्सव मनाएका हुन् ।
दुर्घटनाको अघिल्लो दिन त्यही जहाजमा ढाकाबाट काठमाडौं फर्केका चित्र गुरूङ पनि उनीहरूसँग नयाँ जीवनको संयोग साट्न आइपुगे । ति मध्ये केही विशेष कामले गर्दा जन्मोत्सवमा उपस्थित हुन नसकेको सनम शाक्यले जानकारी दिए ।
‘यो हाम्रा लागि अविश्मरणीय दिन हो’ शाक्यले भने, ‘हामीले नयाँ जीवन पाएको दिन। यही अवसरमा हामी साथीभाइ भेटेर त्यो दिन सम्झौं भनेर भेला भएको।’
गत वर्ष आजकै दिन यात्रुले टनाटन भरिएको युएस बंगला जहाजमा २२ जना नेपाली, २८ जना बांगलादेशी र एक चिनियाँ नागरिकले ज्यान गुमाएका थिए। बंगलादेशमा एमबिबिएस पढिरहेका धेरै विद्यार्थीले कलिलैमा संसार छाडेका थिए ।





























प्रतिक्रिया