सल्यानमा ट्रयाक्टर दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शारदा नगरपालिका–२ श्रीनगरबाट लानीतबजार जाँदै गरेको रा१त ११५१ नंको ट्रयाक्टर सोमबार राति दुर्घटना भएको हो ।
दुर्घटनामा परी ट्रयाक्टर चालक शारदा नगरपालिका–१२ चिसापानीका २४ वर्षीय कृष्ण डाँगी र शारदा नगरपालिका–१ चैबाङज्यूला निवासी १३ वर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्रयाक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएकोमा गए राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रयाक्टर सडकदेखि ३० मिटर तल शारदा नदीमा खसेको छ । दुर्घटनाको विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै नुवाकोटको विदुर नगरपालिका–५ माझीटारमा सोमबार राति भएको मोटरसाइकल दुर्घटनामा एकको मृत्यु भएको छ । देवीघाटबाट घरतर्फ जाँदै गरेको समयमा मोटरसाइकल दुर्घटना हुँदा चालक विदुर नपा–९ लामाटारका १७ वर्षका विनोद थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका विनोदको उपचारको क्रममा जिल्ला अस्पताल त्रिशूलीमा पु¥याएको केही समयमा नै मृत्यु भएको हो । बा६३प ५६३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा चढेका १५ वर्षका विशेष थापामगर घाइते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।





























प्रतिक्रिया