काठमाडौं
लामो समयदेखि अध्यक्ष केपी ओलीलाई साथ दिँदै आएका नेता वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पछिल्लो स्थायी समितिको तेस्रो बैठक (२९ मंसिर–१२ पुस) सँगै उनीसँग ‘सम्बन्ध विच्छेद’ गरेका छन् ।
तत्कालीन एमालेको सातौँ महाधिवेशनयता ‘निर्णायक घडी’मा गौतमले ओलीलाई नै साथ दिँदै आएका थिए । गौतमले यसपटक भने बैठकमा ओली सरकार र पार्टी नेतृत्व दुवै मोर्चामा असफल भइसकेको निष्कर्षसहित फरक विचार पेस गरे । तीन महिनायता उनले ओलीलाई धोकेबाज पनि भने । ओलीसँग आफ्नो मोहभंग भइसकेको बताउँदै आएका गौतमले अन्ततः फरक मत मार्फत राजनीतिक लाइनमा ‘सम्बन्ध विच्छेद’कै घोषणा गरेको चर्चा चलेको हो । गौतम स्वयंले सार्वजनिक र औपचारिक रूपमा यसबारे केही नबताए पनि पार्टी बैठकमा बाहेक अहिले ओलीसँग उनको संवाद टुटिसकेको छ ।
पछिल्लोपटक उनले ‘एक व्यक्तिः एक पद’ को विचार अघि सारे । दुई अध्यक्षमध्ये एकले सरकार सञ्चालन गरे, अर्कोले पार्टी चलाउनु पर्ने उनको मत छ । गौतमले ओलीलाई दुईतिहाइको दम्भ हो भने प्रचण्डलाई प्रधानमन्त्री बनाएर देखाउन र उनीसँगको माया–प्रीति जुग–जुगसम्म कायम राख्न पनि चुनौती दिए ।
गौतमनिकट केन्द्रीय सदस्य केशवलाल श्रेष्ठले भने गौतमले फरक मत भन्दा पनि पार्टी र सरकार सञ्चालनका कमजोरी सुधारका लागि विचार राखेकाले टिप्पणी गरे । श्रेष्ठले दुई नेताबीचको सम्बन्धबारे अहिल्यै थप प्रतिक्रिया दिनु हतारो हुने बताए । ‘अहिल्यै प्रतिक्रिया दिइहाल्न हतारो हुन्छ, उहाँ (गौतम) को विचारलाई सिंगो पार्टीले रचनात्मक रूपमा लिनुपर्छ, उहाँहरू (ओली–गौतम) बीचको सम्झौता सम्बन्धी आन्तरिक मामिला के हो ? मैले बुझेको छैन, त्यसकारण धोका हो कि होइन, थाहा हुने कुरा पनि भएन,’ श्रेष्ठले भने ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया