प्रधानमन्त्री सवार जहाज होल्डमा परेको भन्दै मन्त्रालयद्वारा छानबिन समिति गठन

प्रधानमन्त्री सवार जहाज होल्डमा परेको भन्दै मन्त्रालयद्वारा छानबिन समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री सवार जहाज होल्डमा परेपछि त्यसको छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समिति गठन गरेको छ ।

मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी बिहीबार समिति गठन भएको हो । समितिमा मन्त्रालयका कानुन महाशाखाका उपसचिव सूर्यवंश शर्मा कँडेल, उपसचिव प्रकाश शर्मा ढकाल, नेपाली सेनाका क्याप्टेन सुवास थापा र नागरिक उड्डयन प्राधिकरणकी निर्देशक नविना कर्माचार्य छन् । कर्माचार्यलाई समितिको सदस्यसचिव बनाइएको छ ।

हवाई ट्राफिक जाम भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा प्रधानमन्त्री ओली चढेको जहाज गत मंगलबार २० मिनेट आकाशमै होल्ड गरिएको थियो । अन्य जहाजलाई होल्डमा राखेर भीभीआईपीको उडान अवतरणलाई प्राथमिकता दिइन्छ । तर मंगलबार त्यस्तो भएन ।

प्रधानमन्त्री ओली झापाको सुखानी काण्डका अगुवा मारिएको दिन पारेर गरिएको कार्यक्रममा पुगेर फर्किंदै थिए । झापाको भद्रपुर विमानस्थलबाट यती एअरलाइन्सको जहाजमार्फत अपराह्न ५ः३० तिर काठमाडौं आइपुगेका ओली आकाशमै २० मिनेट होल्ड भएका हुन् । हवाई चापका कारण ओली सवार जहाज आकाशमै होल्ड भएको हो ।

विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार भीभीआईपीको उडान हुँदा पहिले नै जानकारी हुन्छ । पाइलटले पनि एअर ट्राफिक कन्ट्रोललाई उडानमा भीभीआईपी रहेको जानकारी गराउँछन् । मंगलबार प्रधानमन्त्री ओली चढेको जहाजमा त्यसो भएन । पाइलटले पनि एअर ट्राफिकलाई उडानमा भीभीआईपी रहेको जानकारी गराएनन् । जसले गर्दा जहाज हवाई चापको कारणले गर्दा होल्ड हुने अवस्थामा पुगेको हो ।
नागरिकबाट

Logo