आज पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

आज पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ ।

पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचार लगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताउनुभयो ।

पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन् । कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन् । कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदार्थको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताउनुभयो ।

कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ । विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे । यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ ।

त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप,वनकालीको खुला स्थान, तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ । आवास क्षेत्रमा १०० संस्थाले निःशुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ ।

यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ । इलाहावादस्थित प्रयागमा भएको कुम्भमेला लगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । उनीहरुलाई फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ ।

त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ । दर्शनका लागि बिहान ३ः३० बजेदेखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ ।
रासस

Skip This
Skip This
Logo