दोलखा । प्राय जसो सामान चोर्ने मानिस नै हुन्छन् । त्यो पनि गरगहना देखि धनमाल चोरी भएको त सबैलाई जानकारी नै छ । तर घरबाहिर राखिएका जुत्ता चप्पल नै चोरी भएको भन्दा अचम्म लाग्न सक्छ । तर दोलखा सदरमुकाम चरिकोटमा रातको समयमा एकाएक जुत्ता चप्पल गायब हुन्थ्ये ।
धेरै समयसम्म पनि यो क्रम नरोकिएपछि प्रहरीमा उजुरी प¥यो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख (डिएसपी) बासुदेव पाठकले त्यस्तो गुनासो सम्वोधन गर्न मातहतलाई निर्देशन दिए । प्रहरी प्रमुखको निर्देशनपछि मातहतका प्रहरी अधिकारीले सुक्ष्म निगरानी गर्न थाल्यो ।
केही समयमा प्रहरीले अचम्मको रहस्य फेला पार्यो । राती घर घरमा जुत्ता चप्पल गायब गर्ने त मानिस नभएर एक जोडी कुकुर पो रहेछ । कुकुरले त्यसरी संकलन गरेको दुई बोरा जुत्ता चप्पल प्रहरीले फेला पारेको छ । डिएसपी बासुदेव पाठकका अनुसार घुमिरहने कुकुरको दिनचर्या नै जुत्ता चप्पल संकलन गरेर जम्मा गर्ने रहेछ ।
कुकुरले जम्मा गरेको जुत्ता–चप्पल बालबालिका, खेलाडीले लगाउने बुट, स्पोर्टस् सुज र लेडीज जुत्ता–चप्पल रहेका छन् । कसैको जुत्ता चप्पल हराएको भएमा जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरेर फिर्ता लैजान प्रहरीले आह्वान गरेको छ ।





























प्रतिक्रिया