नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको तेस्रो दिन शिल्पी थिएटरमा चम्पावती मञ्चन भयो । भारतको निकै पुरानो र चर्चित नाट्य समूह रितविक थिएटरले उक्त नाटक मञ्चन गरेको होे । यो नाटक दुई महिलाको साहस र सङ्घर्षको कथा हो । एक सर्प नचाउने समुदायलाई नाटकको आधार बनाइएको छ ।
नाटकको मूल भाव भनेको पुरुष प्रधान समाजलाई प्रस्तुत गर्न खोजिएको हो । नाटकमा पुरुषको इच्छाको अगाडी महिलाहरु दबिनुपर्ने कुरा देखाइएको छ । यसमा पुरुषको महिलाप्रति गरिने भोगलिप्साको परकाष्ठा देखाइएको छ ।
नाटकमा चम्पावतीको आफ्नो श्रीमानप्रतिको सच्चा प्रेम देखाइएको छ । चम्पावती नामको एक युवती समुदायबाट बाहिरिन्छन तर पनि उनले आफ्नो जिन्दगी दाउमा राखेर श्रीमानको जीवन बचाउँछिन् ।
आर्थिक रुपमा सम्पन्न अर्की महिला पनि उही पुरुषको दासत्वमा बाँच्न बाध्य छिन् । तर, ती महिलाले बिस्तारै घरेलु साङ्लो तोड्छिन् र घरमा हुर्किएको संरचनागत पुषत्वको विरुद्ध विद्रोह गर्छिन् ।
केही पैसा कमाउने सोचेर गाया र उनको श्रीमती चम्पादेवीसँगै सर्प नचाउनेको समूह गाउँमा छिर्छ । उनीहरुलाई मनिक नामक एक एजेन्टले लोभ देखाउँदै गाउँको सेठकहाँ लैजान्छ । आफ्नी श्रीमतीलाई वेवास्ता गरिरहेको सेठको नजर चम्पावतीमा पर्छ ।
सेठले गायालाई श्रीमती छोडेर जाने आदेश दिन्छ तर गाया मान्दैन । रिसले चुर भएर सेठले समूहलाई नै यातना दिन थाल्छ । त्यो दुःख देख्न नसकेर चम्पादेवी सेठको प्रस्ताव स्वीकार्छिन् तर उनको वलिदान गायाले बुझ्दैन ।
श्रीमतीलाई गायाले नराम्रो व्यवहार गर्छ । गाया अर्कै केटीसँग नजिकिन थाल्छ । सेठले चम्पादेवीलाई प्रयोग गर्न खोज्छ तर सक्दैन । शक्तिको आडमा फकाउन खोज्छ तर पनि केही सिप लाग्दैन । सेठको पहिलेको श्रीमतीले जब यो कुरा थाहा पाउँछिन, तब उनले विरोध गर्छिन् ।
चम्पादेवी त्यँहाबाट भाग्न खोज्छिन् । तर असफल हुन्छिन् । चम्पादेवीलाई सेठको पुर्वपत्नीले छुटाउँछिन् । त्यहाँबाट निस्केर चम्पादेवी आफ्नो समूह खोज्दै जान्छिन् । चम्पादेवीले जब उनको श्रीमानलाई देख्छिन्, गायालाई सर्पले टोकिसकेको हुन्छ । गायाकी नयाँ श्रीमती आसमानीले उसलाई जोगाउन खोजिरहेको हुन्छ तर सक्दिनन् । चम्पादेवीले गायाको घाउबाट मुखले सर्पको बिष तान्छिन् । गाया त बाँच्छ तर चम्पादेवी आफ्नो प्राण त्याग्छिन् ।
विप्लब देइले निर्देशन गरेको यसको नाटककार सैयद शमसुल हुन् । यसको सबल पक्ष भनेको संगीत हो । कोरियोग्राफी र नृत्यगायनको संयोजन निकै राम्रो छ । कलाकारहरुको अभिनय तथा निर्देशकको निर्देशकीय कौशल अब्बल देखिन्छ । बंगाली भाषा रहेको यस नाटकमा बंगाली स्थानीय जनजीवनको झल्को पाइन्छ । १ः३० मिनेट समयअवधिको यो नाटकलाई नेपाली दर्शकहरुले निकै रुचाए ।





























प्रतिक्रिया