सुनसरी।
सुनसरीको चतरास्थित रमानन्द शक्तिपीठका प्रमुख सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सोमबार अभियोग पुष्टि नभएपछि सफाइ दिइएको छ । सुनसरी जिल्ला अदालत इनरुवाले एकवर्षदेखि पुर्पक्षका लागि कारागारमा रहेका सिद्धबाबालाई अभियोग पुष्टि नभएको भन्दै सफाइ दिएको हो ।
सुनसरी जिल्ला अदालतका एक नम्बर इजलासका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले नेपाल सरकारले लिएको अभियोग दावी बमोजिम प्रतिवादीलाई जवरजस्ती करणीको कसुरमा सजाय हुनुपर्ने भन्ने अभियोग पुष्टि नभएकाले आरोपित सफाइ हुने फैसला गरेका हुन् ।
सोमबार फैसला भएसँगै क्षेत्रीय कारागार झुम्कालाई रिहाइका लागि पत्र पठाएको सुनसरी जिल्ला अदालतका श्रेस्तेदार नरेन्द्रकेसरी पोखरेलले जानकारी दिए। यता क्षेत्रीय कारागार झुम्काका निम्ति प्रमुख राजेन्द्रकुमार कार्कीले फैसला भएको जानकारी दिए।
सिद्धबाबाविरुद्ध पीडित महिलाले २०७६ साल पुस १० गते जबरजस्ती करणी गरेको भन्दै मुद्दा दायर गरेका थिए। सुरुमा जिल्ला अदालत सुनसरीले धरौटीमा रिहा गर्न दिएको आदेश बदर गर्दै उच्च अदालत विराटनगरले पुर्पक्षका लागि कारागारमा राख्नु पर्ने आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरका न्यायाधीशद्वय प्रेमप्रसाद कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले गिरीलाई पुर्पक्षमा राख्न आदेश दिएको थियो ।
२०७६ सालको असोजमा आफ्नै अनुयायीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीमा पीडित महिलाले मुद्दा दर्ता गरेकी थिइन् । त्यस मुद्दामा जिल्ला अदालत सुनसरीका तत्कालीन मुख्य न्यायाधीश राधाकृष्ण उप्रेतीले तीन लाख रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएका थिए।गाेरखापत्रबाट





























प्रतिक्रिया