रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन

रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको व्यवस्थित तथा समन्वयात्मक ढङ्गले पुनःनिर्माण गर्न रानीपोखरी पुनःनिर्माण अनुगमन तथा समन्वय समिति गठन गरिएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा गठित समितिमा पुरातत्व विभागका महानिर्देशक, काठमाडौँ महानगरपालिकाले तोकेका तीन जना जनप्रतिनिधि रहने जनाइएको छ ।

प्राधिकरणले तोकेका सम्बन्धित विषयका तीन जना विज्ञ प्रा डा प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्की र काठमाडौँ उपत्यका संरक्षण कोषका कार्यकारी निर्देशक रोहित रञ्जितकार सदस्य हुनुहुन्छ ।

प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख समितिको सदस्यसचिव हुनेछन् । समितिले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माण व्यवस्थित तथा पारदर्शी बनाउन अनुगमन, सहजीकरण र समन्वय गर्नेछ ।

पुनःनिर्माणका लागि सुझाव दिने, गुणस्तर हेर्ने, आवश्यक सहयोग पु¥याउने र काममा देखा परेका समस्याको समाधान गर्ने जिम्मेवारी दिइएको छ । समितिलाई आवश्यकता अनुसार उपसमिति गठन गरी पुनःनिर्माणलाई अगाडि बढाउने अख्तियारी छ । समितिले पुनःनिर्माणका लागि आवश्यक पर्ने आर्थिक स्रोत व्यवस्थापन तथा नीतिगत व्यवस्थाका लागि प्राधिकरणलाई अनुरोध गर्न सक्नेछ ।
रासस

Logo