आर्थिक सहायता र भ्रमण भत्ता, एक महिनामै डेढ करोड बाँडियो

आर्थिक सहायता र भ्रमण भत्ता, एक महिनामै डेढ करोड बाँडियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले आर्थिक सहायता र भ्रमण शीर्षकमा एक महिनामा मात्रै १ करोड ५० लाख रुपैयाँभन्दा बढी बाँडेको पाइएको छ । सरकारले विभिन्न समयमा गरेको आर्थिक सहायता वितरण र उच्चपदस्थ सरकारी अधिकारीको विदेश भ्रमणको निर्णय अनुसार सो रकम वितरण गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार माघ महिनामा मात्रै १ करोड ५४ लाख २१ हजार २५७ रुपैयाँ निकासा भएको छ । जसमा आर्थिक सहायता शीर्षकमा ७९ लाख ९५ हजार १७७ र पदाधिकारी भ्रमणमा ७४ लाख २६ हजार ८० रुपैयाँ खर्च भएको देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई भारतमा उपचार गर्नका लागि २ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।

यस्तै अर्थ मन्त्रालय मातहत विभिन्न मितिमा विदेशका कार्यक्रममा सहभागी भएकाहरुका लागि ३७ लाख ५ हजार ९३१ रुपैयाँ, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको अमेरिका भ्रमणका लागि २६ लाख ४१ हजार ८२८ रुपैयाँ निकासा भएको छ ।

यस्तै दुबईमा आयोजना भएको कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितसहित तीन सदस्यीय टोलीका लागि ५ लाख ५६ हजार २८० रुपैयाँ, युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा भारतमा अन्तर्राष्ट्रिय अवार्ड ग्रहणमा जाँदा भएको खर्च शीर्षकमा १ लाख ८९ हजार ६८० रुपैयाँ अर्थ मन्त्रालयमार्फत निकासा भएको छ । यस्तै भारतको मुम्बईमा भएको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलका लागि २ लाख ४२ हजार ३६१ रुपैयाँ उपलब्ध गराइएको छ ।
राजधानीबाट

Logo