ट्रिपर निषेधदेखि जग्गा खरिदसम्म

ट्रिपर निषेधदेखि जग्गा खरिदसम्म

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

गृहमन्त्री राम बहादुर थापा (बादल) ले गृह मन्त्रालय सम्हालेको एक बर्ष पूरा भएको छ । यसबीचमा शान्ती सुरक्षालाई चुनौती दिनेगरी भएका केही घटनाहरुका कारण गृहमन्त्री बादल र सरकारको काम कारवाहीमा नै प्रश्न चिन्ह खडा भयो ।

कतिपय अपराधिक काण्डहरुमा त गृहमन्त्री बादलको राजीनामा समेत मागियो । त्यसो त गृहमन्त्री बादलले भने बितेको एक बर्ष आफ्नो सिकाई र विकासको आधार बर्ष भएको बताएका छन् । यतिबेला सरकार र विषयगत मन्त्रालयहरुको समिक्षा गर्ने क्रम जारी छ । विगत एक बर्षमा गृहमन्त्री बादलले के कस्तो काम गरे त ?

गृह मन्त्रालयले गरेको प्रमुख १० काम

१. विभिन्न २४ वटा कानुन तर्जुमा गर्ने लक्ष्य लिइएकोमा २१ वटा कानून तर्जुमा भएको छ ।

२. मापदण्ड विपरीत सुरक्षार्थ खटिएका २७५ जना सुरक्षाकर्मी फिर्ता गरिएको छ ।

३. जबरजस्ती करणी अपराध घटनामध्ये ९५ प्रतिशत घटनाको सफल अनुसन्धान भएको छ ।

४. अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको गृह मन्त्रालयको दावी छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको, ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको र ३६ जना अभियुक्तहरुको चल अचल सम्पत्ति रोक्का गरिएको छ ।

५. यातायात सिण्डकेट अन्त्य गर्न यातायात समितिहरुको नवीकरण बन्द गरिएको ।

६. प्रत्येक प्रदेशमा १२५ जनाको विपद् व्यवस्थापन गुल्म स्थापना गर्ने लक्ष्य अनुरुप काम भईरहेको छ ।

७. पाँचथर जिल्लाका एक लाख १० हजार नागरिक र सिंहदरवारभित्रका ७ हजार कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउने कार्य शुरु गरिएको छ ।

८. प्रमुख जिल्ला अधिकारीहरुसँग कार्य सम्पादन सम्झौता गरी कार्यान्वयन गरेको छ ।

९. प्रहरीको गतिशिलता १३.१५ प्रशितले बृद्धि गरिएको मन्त्रालयको दावी छ । सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षातर्फ १० वटा थप बोर्डर आउटपोष्टसहित ५६ नयाँ इकाई स्थापना गरेको छ ।

१०. विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयन गरिएको छ ।

अन्य कामहरु

१. शान्ती सुरक्षा र अपराध नियन्त्रण

गृह मन्त्रालयले यस अन्तर्गत सुरक्षाकर्मी फिर्तादेखि समुदाय प्रहरी साझेदारसम्मका १० काम समावेश गरेको छ । जस अनुसार मापदण्ड विपरित खटिएका २७५ सुरक्षाकर्मी फिर्ता गराएको, विप्लव समूहका ३४७ जनालाई पक्राउ गरिएको, सिके राउत समूहका ९४ जना नेता कार्यकर्ता पक्राउ गरिएको, मुलुकका विभिन्न स्थानमा गरी २०८९ वटा सिसिटिभी जडान गरिएको, प्रदेश १ र कर्णाली प्रदेशमा डिजिटल फरेन्सिक ल्याव स्थापना गरिएको हालसम्म समुदाय प्रहरी साझेदारी अभियान अन्तर्गत १५ हजार ३३६ वटा समिति गठन गरिएको जनाएको छ ।

२. संगठित अपराध र तस्करी नियन्त्रण

मन्त्रालयले यस अन्तर्गत अवैध सुन तस्करी नियन्त्रणमा ठूलो सफलता पाएको उल्लेख गरेको छ । एक बर्ष अवधिमा ११४.१२३ केजी सुन बरामद गरिएको, १८ करोड ८ लाख ८२ हजार ४२३ रुपैंया राजस्व असुली भएको र १२८ जना पक्राउ गरेको जनाएको छ । त्यस्तै ९९.५०३ केजी चाँदी बरामद गरिएको, ५४ लाख ३७ हजार २७२ रुपैया राजस्व असुली भएको र ३७ जना पक्राउ गरेको जनाएको छ ।

त्यस्तै यस अवधिमा सरकारले एक करोड ९४ लाख ८९ हजार ६५० रुपैंया भारतीय रुपैंया बरामद गरेको छ । त्यस्तै २ लाख ७४ हजार ९२५ अमेरिकी डलर, ३ हजार ८ सय यूरो, एक हजार पाउण्ड स्टर्लिङ, ४० हजार यूएई दिराम र ३८ हजार चिनियाँ युआन बरामद गरेको छ । त्यस्तै वितेको एक बर्षमा २७० थाना अवैध हतियार र ३२९ राउण्ड गोली बरामद गरिएको छ । त्यसै गरेर अदालतले सजाय फैसला गरी फरार रहेका एक हजार एक सय ४ जना प्रतिवादीहरु समेत पक्राउ परेका छन् ।

सार्वजनिक सुव्यवस्था र ट्राफिक व्यवस्थापन

यस अन्तर्गत गृह मन्त्रालयले सिण्डकेट हटाएको दावी गरेको छ । साथै राजमार्ग सुरक्षा कार्यविधि कार्यान्वयन गरेको, राजधानीमा ट्रिपर लगायत ठूला गाडीलाई समय निर्धारण गरिएको, १२ लाख ९० हजार ४७६ वटा ट्राफिक कारबाहीबाट ८१ करोड, ८७ लाख ८७ हजार ७१३ रुपैंया राजस्व संकलन गरिएको जनाएको छ ।

उद्धार र राहत

गृह मन्त्रालयले विपद् जोखिम न्यूनिकरण राष्ट्रिय नीति २०७५ र विपद् जोखिम न्यूनिकरण राष्ट्रिय रणनीतिक कार्ययोजना स्वीकृत गरी कार्यान्वयन गरेको जनाएको छ । त्यस्तै प्रकोप पीडित उद्धार र राहतका लागि ५ करोड ८० लाख २३ हजार ५५४ रुपैंया निकाशा गरी वितरण गरिरहेको जनाएको छ । मन्त्रालयले घटना भएको १० मिनेटभित्र पुग्ने गरी २५/२५ जनाको क्यूआरटी/आइआरटी टिम बनाएको र विपद्का २ हजार १८९ घटनामा १५ हजार ७७५ सशस्त्र प्रहरी परिचलन गरेको जनाएको छ ।

शितलहरबाट जोगाउन तराईका २२ जिल्लाका लागि २ करोड ७५ लाख रुपैंया बजेट निकाशा गरेको, हिमाली २० जिल्लाका जनतालाई चिसोको प्रकोपबाट जोगाउन ५/५ लाख रुपैया निकाशा गरेको र शितलहर र आगलागी पीडितलाई ६ हजार थान राहत वितरण गरेको मन्त्रालयले जनाएको छ ।

कारागार सुरक्षा

त्यस्तै मन्त्रालयले २३ वटा कारागारमा सिसिटिभी जडान र १४ वटामा भिडियो कन्फेरेन्स जडान गरेको जनाएको छ ।

अध्यागन तथा सीमा व्यवस्थामा सुधार

यस अन्तर्गत मन्त्रालयले पर्यटक र गैर पर्यटक भिसा वितरणलाई विद्युतीय टोकन प्रणाली लागु गरेको, नेपाल र अमेरिकाबीच भिसा पारस्परिकता कायम गरेको, सीमा व्यवस्थापनका लागि आईएमएमआई सफ्टवेयरको विकल्पमा नेपाल पोर्ट नामक सफ्टवेयर निर्माण गरेको जनाएको छ । त्यस्तै नेपालको सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलको संयुक्त गल्ती ६८२ पटक भएको र नेपाल भारत सीमा बैठक ५५ वटा सम्पन्न भएको जनाएको छ ।

परिचयपत्र व्यवस्थापन

मन्त्रालयले पाँचथर जिल्लाका २ हजार ७६० जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरेको र सिंहदरवारका २ हजार ५१० जना कर्मचारीलाई परिचयपत्र वितरण गरिएको जनाएको छ ।

लागु औषध नियन्त्रण

यस अवधिमा आगुऔषध अपराधमा संलग्न ३ हजार १२ जनालाई पक्राउ गरिएको, एक हजार ८२६ वटा मुदा दर्ता गरेको र ६ हजार ८५३ दशमलव २४ केजी विभिन्न किसिमका लागूऔषधहरु बरामद गरिएको जनाएको छ । त्यस्तै प्रहरीले विगतमा भन्दा ६६ प्रतिशतले बढी गाँजा खेती फँडानी गरेको र ७३ प्रतिशत बढी गाँजा बरामद गरेको दावी गरेको छ । त्यस्तै ६६ हजार ३४६ लिटर मदिरा र १२ लाख ४७ हजार ९८३ लिटर कच्चा पदार्थ बरामद गरी नष्ट गरेको जनाएको छ ।

शान्ती प्रबर्द्धन 

गृह मन्त्रालयले टुहुरा बालबालिकाहरुलाई ४ करोड बीस लाख रुपैंया, जन आन्दोलनका घाइतेहरुलाई ५५ लाख ३१ हजार रुपैंया, शहिद परिवारलाई ४३ लाख ६८ हजार रुपैंया राहत वितरण गरेको जनाएको छ । त्यस्तैगरी द्वन्द्वपीडित मृतक, वेपत्ता, विस्थापित, अपहरणमा परेका समेतलाई गरी एक अर्ब ७२ करोड १२ लाख ३ हजार रुपैंया राहत वितरण गरेको जनाएको छ ।

त्यसैगरी जनआन्दोलन घाईते छात्रवृत्रितर्फ ११ लाख ९४ हजार रुपैंया, क्षतिपूर्तिबापत २ करोड ५ लाख ६८ हजार ६४० रुपैंया, त्यस्तै बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका परिवारलाई १० लाख, सन्नी खुन्नाका परिवारलाई १० लाख रुपैंया र सोही क्रममा भएको आन्दोलनमा घाइतेहरुको उपचार खर्चका लागि १८ लाख ९६ हजार रुपैंया प्रदान गरेको जनाएको छ ।

यसका साथै मन्त्रालयले गृह प्रशासन सुधार कार्ययोजना कर्यान्वयन थालेको, १० वटा जिल्ला प्रशासन कार्यालयमा मोबाइल एप सञ्चालनमा ल्याएको, ९ हजार ७८६ जना नेपाल प्रहरी र ३२३ जना सशस्त्र प्रहरीलाई कारवाही गरिएको जनाएको छ । त्यस्तै प्रहरी कार्यालयहरुमा भिस्याट प्रविधि जडान गरिएको, डाटा सेन्टर स्थापना गरेको, २ हजार २ सय ७६ जनालाई अनलाइनमार्फत चारित्रिक प्रमाणपत्र वितरण गरेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले विभिन्न तालिम केन्द्रहरुका लागि ठूलो परिमाणमा जग्गा किन्नुलाई पनि उपलब्धि मानेको छ । जस अनुसार गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका लागि ७६८ रोपनी, २ नम्वर तालिम केन्द्रका लागि ८२ विगाहा ७ कट्ठा र ३ नम्वर प्रदेश ट्राफिक प्रहरी कार्यालयका लागि १० कट्ठा जग्गा प्राप्त गरेको जनाएको छ ।

Skip This
Skip This
Logo