कोटेश्वर-कलङ्की सडकमा ६ स्थानमा आकाशे पुल बन्दै

कोटेश्वर-कलङ्की सडकमा ६ स्थानमा आकाशे पुल बन्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

चिनियाँ सरकारले निर्माण सम्पन्न गरेको कोटेश्वर–कलङ्की सडकमा थप ६ स्थानमा आकाशे पुल निर्माण आगामी असारसम्ममा सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

चिनियाँ निर्माण कम्पनीले तीन ठाउँमा पुल निर्माण सम्पन्न गरेकामा नेपाल सरकारले थप ६ ठाउँमा आकाशेपुलको निर्माण गरिरहेको हो । चिनियाँ निर्माण कम्पनीले कोटेश्वर, बागडोल र ग्वार्को गरेर तीन स्थानमा पुल निर्माण सम्पन्न गरेको काठमाडौँ चक्रपथ सुधार योजनाले बताएको छ । सडक विभागले बालकुमारी, सातदोबाटो, एकान्तकुना, सानेपा, बल्खु र महालक्ष्मीस्थानमा ठेक्का सम्झौता मार्फत् आकाशे पुल निर्माण गर्न लागेको योजनाले बताएको छ ।

सरकारले आकाशे पुल निर्माण गर्न लागेको छ ठाउँ मध्ये पाँच ठाउँमा ठेक्का सम्झौता भइसकेर काम भइरहेको इञ्जिनियर निरञ्जन शर्मा अर्यालले बताए । उनका अनुसार पाँच ठाउँमा काम भइरहेको छ भने महालक्ष्मीस्थानमा छिट्टै ठेक्का सम्झौता हुनेछ । उनले भने, ‘काम भइरहेका ठाउँमा कुनै पनि अवरोध नभएकाले समयमा नै सकिएला ।’

दश किलोमिटर लम्बाइको यो सडकमा चिनियाँ सरकारले निर्माण गरेको तीन वटा मात्र आकाशे पुल पर्याप्त नभएको भन्दै सरकारले छ ठाउँमा पुल निर्माण शुरु गरेको थियो । यी ६ आकाशे पुल निर्माण सकिएपछि चक्रपथको यस खण्डमा मुख्य–मुख्य सबै चोकमा आकाशे पुल हुने आयोजनाले बताएको छ ।
नेपाल समाचारपत्रबाट

Logo