उदयपुरमा भीषण आगलागी : १२ घर / गोठ जलेर नष्ट, ५४ वटा चौपाय मरे

उदयपुरमा भीषण आगलागी : १२ घर / गोठ जलेर नष्ट, ५४ वटा चौपाय मरे

केन्द्रबिन्दु
0
Shares

गाईघाट

उदयपुरको रौतामाई गाउँपालिका–२ डुम्रेमा शनिबार दिउसो भएको भीषण आगलागीबाट पाँचवटा घर जलेर नष्ट भएका छन् भने जलेर ५४ वटा चौपाय मरेका छन् ।

गाई, गोरु, खसी र बाख्रा गरी ५४ वटा चौपाय जलेर मरेका हुन् । खोरमा थुनेर राखिएका खसी र बाख्रा मात्रै ४६ वटा जले । आगलागीबाट कमल कार्की, ज्ञानबहादुर कार्की, राजेन्द्र कार्की, विदुर कार्की र दीपक कार्कीका पाँचवटा घर र सातवटा गोठ जेलर ध्वस्त भएका छन् ।

उदयपुर प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार दिउसो १ बजे कमल कार्कीको घरबाट आगो लाग्न सुरु भएको थियो । आगोले एक घण्टाभित्रै पाँचवटा घर र सातवटा गाई, गोरु बाँध्ने गोठ जलेर ध्वस्त भएको राईले बताए ।

आगोले कमलको एउटा घर, दुईवटा गोठ, विदुरको एउटा घर र एउटा गोठ, दीपकको एउटा घर र दुईवटा गोठ, राजेन्द्रको एउटा घर र एउटा गोठ तथा ज्ञानबहादुरको एउटा घर एउटा गोठ जलेर नष्ट भएको हो ।

घटनामा ६६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । हावा चलिरहेका कारण लहरै रहेका घरमा आगो चाँडो फैलिएर ठूलो क्षति पु¥याएको प्रहरीको भनाइ छ ।

उदयपुरमा बिहानैदेखि हावा चलिरहेको थियो । आगोले काठबाट बनेका परालको छाना भएका घर तथा भित्र रहेका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, नगद, सुनचाँदी, महत्वपूर्ण कागजपत्र लगायत सबै धनमाल जलेर नष्ट भएको एसपी राईले बताए ।
अन्नपूर्णबाट

Logo