काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयुक्त राजनारायण पाठकमाथि घुस र अकुत सम्पत्तिमा छानबिन थालेको छ । अख्तियार र शिक्षा मन्त्रालयले घुस खुवाउने भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनिरिङ कलेजमाथि पनि अनुसन्धान थालेको हो ।
अनुसन्धान टोली बनाएर मंगलबारबाट विस्तृत अनुसन्धान गरिरहेको अख्तियारले शिक्षा मन्त्रालय मार्फत इन्जिनिरिङ कलेज चाँगुनारायणको विवरण मागेको छ । अख्तियारको माग अनुसार मन्त्रालयले इन्जिनियरिङ कलेजको विवरण आयोगमा पठाइसकेको छ । इन्जिनियरिङ कलेजका सञ्चालक लम्बोदर न्यौपानेले पटक–पटक गरेर पाठकलाई ७८ लाख रुपैयाँ घुस बुझाएको खुलासा गरेपछि पाठक विवादमा परेका हुन् ।
घुस बुझाउने लगायत कलेज सञ्चालकमाथि पनि छानबिन अगाडि बढाउने भएको छ । इन्जिनियरिङ कलेजको सम्पत्ति बाँडफाँटको विषयमा न्यौपाने र दीपक भट्टराईको समूहबीच विवाद भएको थियो । १० करोड रुपैयाँ बाँड्ने विषयमा विवाद भएपछि भट्टराई समूहले जिल्ला प्रशासन कार्यालय, संसद्को शिक्षा, स्वास्थ्य समिति र अख्तियारमा उजुरी दिएको थियो ।
सम्पत्ति बाँडफाँटमा अनियमितता भएको भन्दै जिल्ला प्रशासन, संसदीय समिति र अख्तियारमा उजुरी परेपछि छानबिन रोक्न न्यौपाने समूहले आयुक्त पाठकलाई घुस दिएको थियो । शिक्षा मन्त्रालयले पनि उक्त कलेजमा भएको अनियमितताका विषयमा छानबिन थालेको छ । शिक्षा मन्त्रालयका सहसचिव हरि लम्सालले शिक्षा स्वास्थ्य समितिको निर्देशन अनुसार कलेजको सञ्चालन मोडालिटी र आर्थिक अनियमितताको विषयमा छानबिन गरिएको बताए ।
अन्नपूर्णबाट





























प्रतिक्रिया