सुनकाण्डका ठूला माछा समात्न सफल भएको गृहमन्त्रीको दाबी ( भिडियो सहित )

सुनकाण्डका ठूला माछा समात्न सफल भएको गृहमन्त्रीको दाबी ( भिडियो सहित )

केन्द्रबिन्दु
0
Shares

गृहमन्त्री रामबहादुर थापाले मुलुकको शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनु भएको छ ।

राष्ट्रियसभाको सुन्य र विशेष समयमा राष्ट्रियसभा सदस्यहरुले उठाएका समसामयिक विषयका बारेमा बुधबार बसेको राष्ट्रियसभाको बैठकमा जानकारी गराउदै उहाँले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको बताउनुभएको हो । उहाँले कंञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नहरुको खोजी भईरहको तथा अपराधी पत्ता लगाउन उदासिनता देखाउने प्रहरीमाथि पनि कारवाही भएको जानकारी गराउनुभयो । उहाँले सुन तस्करीको सञ्जाललाई सरकारले ध्वस्त पार्न सफल भएको र सम्बन्धीत अपराधीलाई कानूनी कठघरामा ल्याईएको बताउनुभयो ।

सुनकाण्डको सवालमा सुन तस्करीमा संलग्न ठूला माछाहरु मूलभूत रुपमा नियन्त्रणमा आईसकेको भए पनि केही माछाहरु अझै जाल बाहिर रहेको स्वीकार गर्नुभयो । उहाँले भन्नुभयो “केही ठूला माछाहरु अझै पनि जाल भन्दा बाहिर छन् । तिनीहरुलाई समात्ने र जालमा ल्याउने प्रक्रिया जारी छ । ”
सुनकाण्डका सवालमा ठूला माछा अझै नियन्त्रणमा किन आएनन् भनी सदस्यहरुले राखेको जिज्ञासा स्पष्ट नभएको भन्दै उहाँले प्रश्न गर्नुभयो “ठूला माछा भनेर कसलाई भन्न खोज्नु भएको हो ? अलि स्पष्ट भएन । केहि मन्त्रीहरुप्रति इंकित हो कि ? कुनै राजनीतिक नेतृत्वलाई इंकित गर्न खोज्नु भएको हो कि ?

गृहमन्त्री थापाले राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका सर्वसाधारणलाई छिटै शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाईएको जानकारी गराउनुभयो । उहाँले यातायात क्षेत्रको सिण्डिकेट पनि कानूनी रुपमा अन्त्य भईसकेको भन्दै अन्य क्षेत्रमा देखिएको सिण्डिकेट पनि अन्त्य गर्दै लगिने स्पष्ट पार्नुभयो ।

पुर्वराजदूत केशव झाको हत्याको अनुसन्धान चलिरहेको गृहमन्त्री थापाले बताउनुभयो । सिंहदरबार प्रवेशलाई सहज बनाउन गृह मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । राष्ट्रियसभा सदस्यहरु बृषेश चन्द्र लाल, सरिता प्रसाई, कोमल ओली, अनिता देवकोटा, जितेन्द्र नारायण देव, रामपृत पासवान, राम नारायण विडारी, विन्दा देवी आले रानाले गृहमन्त्री थापाको वक्तव्यमा केन्द्रीत रही प्रश्न गरेका थिए ।

राष्ट्रियसभा सदस्य विडारीले बैठकमा निर्मला पन्तको बलात्कारपछिको हत्या घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि फौजदारी अपराध संहिता अन्र्तगत मुद्दा चलाउनका लागि माग गरिएको स्मरण गराउदै सो भयो कि भएन भनी प्रश्न गर्नुभएको थियो । जवाफमा गृहमन्त्री थापाले घटनाको प्रमाण लोप गर्ने प्रहरी अधिकारीमाथि अनुसन्धान जारी रहेको भन्दै निष्कर्ष आएपछि थप कारवाही गरिने बताउनुभयो ।

लिटिल बुद्धको रुपमा रहेका राम बहादुर बमजमको बारेमा सरकारले गम्भीर रुपमा लिई छानविन गरिरहेको गृहमन्त्री थापाले स्पष्ट पार्नुभयो । राष्ट्रियसभा सदस्य कोमल ओलीले आफुलाई लिटिल बुद्ध भनेर देखाउदै आएका राम बहादुर बमजमले महिला माथि दुर्रव्यवहार गरेका घटना बाहिर आउदा पनि उनीमाथि किन कारवाही हुन सकिरहेको छैन भनी उनी माथिको छानविन प्रक्रिया बारे जिज्ञासा राख्नुभएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक आगामी आईतबार २ बजेर ३० बजेका लागि बोलाईएको छ । हेरौं यो भिडियोमा :

 

Logo