काठमाडौँ
महाभूकम्प ०७२ पछिको पुनर्निर्माण तथा पुनःस्थापनाको कार्यमा २६२ अर्ब रुपैयाँको सम्झौता भएको छ । पुनर्निर्माण प्राधिकरणले हालसम्म २६२ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको जनाएको हो ।
आर्थिक वर्ष २०७४/७५ सम्म पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सरकारले १८६ अर्ब खर्च गरेको छ । जसमा नेपाल सरकारको ११९ अर्ब र दातृ निकायको ६७ अर्ब रुपैयाँ खर्च भएको छ ।
आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले १५१ अर्ब रुपैयाँ बजेट प्रस्ताव गरेको छ । जसमा पुस मसान्तसम्म ३१ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ ।
पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजना अनुसार कुल आवश्यक बजेट ९३८ अर्ब रहने प्रक्षेपण गरेको छ । जसमा दाता सम्मेलनमा ४१० अर्ब रुपैयाँको प्रतिबद्धता रहेको छ । दाताहरूले प्रतिबद्धता जनाएको ४१० अर्ब रुपैयाँमा पनि ६७ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको प्राधिकरणले जनाएको छ । ६७ अर्ब राहत तथा उद्धार र अन्य कार्यक्रममा खर्च भएपछि दाताको प्रतिबद्धतामा ३४३ अर्ब रुपैयाँ मात्र रहेको छ ।
प्राधिकरणले पञ्चवर्षीय पुनर्निर्माण तथा पुनःस्थापना योजनाको मध्यावधि मूल्यांकन गरी वित्तीय व्यवस्थापन योजनाको मस्यौदा तयार गरेर स्वीकृतिका लागि सरकारसमक्ष पेस गरेको छ । प्राधिकरणले वित्तीय व्यवस्थापन योजनाको खाका तय गरे पनि आवश्यक बजेटका लागि भने समस्या पर्ने समेत देखिएको छ । जसमा भारतबाट आउने रकममा आफू पक्षीय शर्त राखेपछि पुनर्निर्माणमा प्रयोग गर्न कठिनाइ देखिएको छ ।
राजधानीबाट































प्रतिक्रिया