काठमाडौँ
काठमाडौँ महानगरपालिकाले छिमेकी नगरपालिकालाई समृद्ध बनाउने नीति अनुरुप नौ वटा नगरलाई एक/एक करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।
शुक्रबार बसेको २९ औँ महानगरको बोर्ड बैठकले नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौँका नगरपालिकाहरुको हरियाली प्रवद्र्धन, पार्क निर्माण र सार्वजनिक जग्गा संरक्षण कार्यका लागि प्राप्त प्रस्तावका आधारमा उक्त रकम उपलब्ध गराउने भएको हो ।
यसै कार्यक्रम अन्तर्गत गएको असार २० गते टोखा नगरलाई बौडेश्वर महादेव क्षेत्रमा बाल उद्यान निर्माणका लागि एक करोड प्रदान गरिसकेको छ । अब टोखा बाहेकका अन्य नगरलाई रकम दिइनेछ । बैठकले अन्तर सरकार साझेदारी कार्यक्रम सञ्चालन कार्यविधि २०७५ अनुमोदन गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
बैठकले पर्यटन वर्ष–२०२० लाई सफल बनाउन सम्पदा समितिका संयोजक एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनको संयोजकत्वमा १७ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यसचिवमा सम्पदा तथा पर्यटन विभागका विभागीय प्रमुख रहने व्यवस्था गरिएको छ ।
त्यस्तै भवन निर्माण मापदण्ड पुनरावलोकन गर्न प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यहरुमा वडाध्यक्ष मुकुन्द रिजाल, शशिलाल श्रेष्ठ, मोहन बिष्ट र चिनियाँमान बज्राचार्य हुनुहुन्छ । शहरी सुरक्षाका लागि सिसी क्यामेरा जडान गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने र यसका लागि प्रहरीलाई तीन करोड उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको छ ।
रासस





























प्रतिक्रिया