चित्लाङ-थानकोट सडक केन्द्रीय सरकारले बनाउने भएपछि स्थानीयमा खुसी

चित्लाङ-थानकोट सडक केन्द्रीय सरकारले बनाउने भएपछि स्थानीयमा खुसी


चित्लाङ–थानकोट सडक अन्तत: केन्द्रिय सरकारले बनाउने भएको छ।  मन्त्रिपरिषदको माघ २१ गते बसेको बैठकले यो सडकको स्तरोन्नती केन्द्रिय सरकारले गर्ने निर्णय गरेको हो।

यसअघि यो सडक स्तरोन्नती प्रदेशले गर्ने कि केन्द्रले गर्ने भन्ने बहस हुँदै आएको थियो।  तर चित्लाङ–थानकोट सुरुगमार्ग निर्माणको काम केन्द्र सरकारले थालेपछि सडक स्तरोन्नतीको काम पनि केन्द्रले नै गर्न प्रदेश सरकारले आग्रह गरेको थियो । करिब १ अर्ब १३ करोड लागत अनुमान गरिएको यो सडक करिब साढे २२ किलोमिटरको छ।

गणेशमान मार्गको रुपमा चिनिने यो सडक करिब ४ बर्षदेखि लथालिङ्ग अबस्थामा रहेको थियो। सडक केन्द्रिय सरकारको मातहतमा ल्याइएपछि स्थानीय सडक बन्नेमा आशाबादी देखिएका छन्।  थाहा नगरपालिका ९ चित्लाङ्का अगुवा बुद्धरत्न मानन्धरले ढिलाई भए पनि अन्यौलता समाप्त भएको भन्दै स्थानीयमा छाएको निरासा हटेको बताए । उनले अब छिटो भन्दा छिटो काम सम्पन्न गर्नुपर्ने स्थानीयको माग रहेको जानकारी दिए ।

मकवानपुरलाई राजधानी काठमाडौँ जोड्ने छोटो मार्गको रुपमा रहेको यो सडकलाई थाहानगरको मुख्य विकासको मार्गको रुपमा लिईदै  आएको छ ।

Logo