काठमाडौं । सरकारले फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको घोाषणा गर्दैछ । बेरोजगारलाई न्यूनतम रोजगार दिने र रोजगारी दिन नसके निर्वाह भत्ता उपलब्ध गराउने गरी फागुन १ गते ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ घोषणा गरिने भएको हो । त्यसको आवश्यक तयारी भईरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले फागुन १ गते कार्यक्रम घोषणा गर्ने गरी तयारी भइरहेको जानकारी दिए । उक्त कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।
सरकारले कार्यक्रमका लागि आवश्यक ऐन तथा नियमावली तयार गरिसकेको छ । गत १९ पुसको मन्त्रिपरिषद्ले पारित गरेको रोजगारीको हकसम्बन्धी नियमावलीले संघीय सरकार, सातवटै प्रदेश सरकार र ७५३ स्थानीय तहले न्यूनतम रोजगार प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने व्यवस्था गरेको छ ।
सोहीअनुसार सार्वजनिक विकास निर्माणका कार्यक्रम तथा आयोजनाहरूमा सिर्जना हुन सक्ने रोजगारी आकलन गर्ने, रोजगारी बढाउने कार्यक्रम तयार पारी कार्यान्वयन गर्न लागिएको हो ।
सरकारले सूचीकृत बेरोजगारलाई न्यूनतम रोजगारी दिन नसके एक सय दिन बराबरको न्यूनतम पारिश्रमिकको ५० प्रतिशत रकम निर्वाह भत्ताका रूपमा उपलब्ध गराउनेछ । सरकारले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३ सय २५ रुपैयाँ आधारभूत तथा १ सय ९२ रुपैयाँ महँगी भत्ता गरी ५ सय १७ रुपैयाँ तोकेको छ ।
यसका आधारमा न्यूनतम रोजगारी नपाउने एक श्रमिकले वार्षिक करिब २६ हजार रुपैयाँ निर्वाह भत्ता पाउने देखिन्छ । त्यसका लागि परिवारको कुनै पनि सदस्यले रोजगारी नपाएको तथा वैदेशिक रोजगारीमा नगएको एवं स्वरोजगार नभएको, सरकारले तोकेकोभन्दा कम वार्षिक आय भएको वडा कार्यालयको सिफारिससहित रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।





























प्रतिक्रिया